रोहिंज्या शरणार्थीको आधा वर्ष समुद्रमा यात्रा

रोहिंज्या शरणार्थीको आधा वर्ष समुद्रमा यात्रा


■ दिलीप शर्मा

करिब ३०० रोहिंज्या आप्रवासी सात महिनासम्म समुन्द्र र तटीय क्षेत्र हुँदै सोमबार इन्डोनेसिया पुगेको विवरणले उनीहरूको कष्टकर यात्रालाई बताउने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएनएचसीआर) ले जनाएको छ ।

एक दर्जनभन्दा बढी बालबालिकासहित ती आप्रवासीलाई काठको डुङ्गाहरूमा यात्रा गर्दै गर्दा इन्डोनेसियाको सुमात्राको उत्तरी तटमा लोक्सेउमावे सहर नजिकै अवतरण गर्न स्थानीयले सहयोग गरेका राष्ट्रसङ्घीय अधिकारीहरूले बताएका छन् ।

म्यानमारका मुसलमान अल्पसङ्ख्यक रोहिंज्या समुदायले विगत केही वर्षदेखि यस्तै कठिन यात्रा गर्दै इन्डोनेसिया, फिलिपिन्ससम्म पुग्ने गरेका घटना नयाँ भने होइनन् । यस्तै कठिन यात्रा गर्दै रोहिंज्या शरणार्थी खासगरी एशियाका दर्जनौँ देशमा पुगी सस्तो श्रम बेचेर वा शरणार्थीका रूपमा जीवन बिताइरहेका छन् ।

उक्त समूहमा यात्राका क्रममा कम्तीमा ३० जनाको त मृत्यु भएको राष्ट्रसङ्घीय निकायले जनाएको छ । उनीहरू बाँच्नकै लागि सरल उपायको खोजीमा बङ्गलादेशको कोक्स बजारबाट गत फेब्रुअरीमा यात्रा तय गरेको बताइएको छ ।

यूएनएचसीआरले भनेको छ, ‘उनीहरू बाँचेका त छन् । तर समुद्रको कठिन यात्राका कारण कतिपय दिन भोकै यात्रा गरेको बताउने उनीहरू करिब सात महिनासम्म असामान्य कष्ट व्यहोरेका छन् । उनीहरूमध्ये करिब ३० जनाले आफ्नो ज्यान गुमाएका बताउने गरेका छन् भने कैयौँलाई स्वास्थ्य सेवाको जरूरी देखिएको छ ।’

म्यानमारमा अल्पसङ्ख्यक रोहिंज्या शरणार्थी र सरकारी सेनाबीच तीन वर्ष पहिले भएको द्वन्द्वपछि करिब दश लाख रोहिंज्या शरणार्थी रखाइन राज्यबाट भागेर छिमेकी मुलुक बङ्गलादेश पुगी विभिन्न शरणार्थी शिविरमा भीडभाडमा बस्ने गरेका छन् । विश्व कोरोना भाइरसको महामारीबीच जुधिरहँदा उनीहरूलाई भने रोगको भन्दा बढी चिन्ता भोकको हुने गरेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी समूहहरूले बताउने गरेका छन् ।

मानव तस्करहरूले दयनीय अवस्थामा जीवन गुजार्न बाध्य यीनै आप्रवासी, शरणार्थीहरूलाई प्रलोभनमा पारी विश्वका विभिन्न मुलुक पुऱ्याउने गरेको राष्ट्रसङ्घीय उक्त निकाय, यूएनएचसीआरले बताएको छ ।

बङ्गलादेशपछि मुसलमान अल्पसङ्ख्यक उक्त जातीले आफ्नो रोजाइको गन्तव्य मलेसिया तथा इन्डोनेसिया बनाउने गरेका छन् ।

दर्जनौँलाई बन्धक बनाइएको हुनसक्ने आशङ्का

रोहिंज्या सङ्कटबारे काम गरिरहेको गैरसरकारी संस्था, अराकान प्रोजेक्टका निर्देशक क्रिस लेवाले भने कैयौैँ आप्रवासी समुद्रमा पक्राउ परेका हुनसक्ने आशङ्का गर्नुभयो । उनीहरूको परिवारबाट मानव तस्करहरूले धेरै पैसाका लागि मोलतोल गरी हराएका भनिएका उनीहरूलाई अपहरण गरिएको हुनसक्ने उहाँले बताउनुभयो ।

‘यी व्यक्तिलाई वास्तवमा बन्धक बनाइएको हुनसक्छ,’ उहाँले भन्नुभयो । ‘हामीलाई पूर्ण कथा अहिलेसम्म थाहा छैन तर तस्करहरूले उनीहरूले भुक्तान नगरुञ्जेलसम्म उनीहरूलाई फिर्ता गर्ने छैनन् ।’

सुमात्रा नजिकै पुगेका कूल २९७ रोहिंज्याको समूहमध्ये १०२ पुरूष र १८१ महिला युवक तथा वृद्धको नेतृत्व गरेका एक अधवैसेलाई स्वास्थ्यमा समस्या आएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको इन्डोनेसियाको लोकसेउमावे क्षेत्रका सैनिक प्रमुख रोनी महेन्द्रले बताउनुभयो ।

लोकसेउमावेमा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा यात्रामा थाकेको तथा खाना तथा आवश्यक पौष्टिक कुराको अभावमा उनीहरूलाई भवनमा सार्नुपूर्व लत्रिएर भुइँमा यत्रतत्र लडेका देखिएको छ । उनीहरूको अवस्था देखेपछि स्थानीयले केही खाना र कपडाहरू सहयोग गरेका थिए ।

‘हामी तिनीहरूको अवस्थाको बारेमा चिन्तित बन्यौँ अनि जेसक्छौँ सहयोग गऱ्यौँ’, लोकसेउमावेका स्थानीय आइस्याहले भन्नुभयो । ‘उनीहरूलाई मानवताको नाममा मद्दत चाहिन्छ । तिनीहरू हामीजस्ता मानिस हुन् ।’

यसैबीच एम्नेस्टी इन्टरनेसनलले इन्डोनेसियालाई आप्रवासीलाई सुरक्षित घर दिन आग्रह गरेको छ । ‘रोहिंग्या शरणार्थीहरू अझै पनि सुरक्षाको खोजीमा सबै जोखिम लिन चाहन्छन्’, एम्नेस्टी इन्डोनेसियाका कार्यकारी निर्देशक उस्मान हमिदले भन्नुभयो ।

‘उनीहरूका साक्षीहरूले फेरि यी डु दयबत्गाका यात्राहरू कत्ति खतरनाक हुन सक्छन् भनेर देखाउँछन् ।’

लामो समयदेखि सताइएका रोहिंज्यालाई म्यानमारमा अवैध आप्रवासीको रूपमा लिइन्छ । उनीहरूलाई नागरिकता दिन अस्वीकार गरिएको छ र स्वतन्त्र रूपमा कुनै देहमा यात्रा गर्न असक्षम छन् ।

सन् २०१७ मा गरिएको सैन्य कारबाहीपछि झन्डै सात लाख ५० हजार रोहिंज्यालाई द्वन्द्वग्रस्त रखाइन राज्यबाट बङ्गलादेशमा भाग्न बाध्य पारिएको आरोपमा अहिले म्यानमारले संयुक्त राष्ट्रको उच्च अदालतमा नरसंहार आरोपको सामना गरिरहेको छ ।

‘खतरनाक परीक्षा’

जुनमा सोही क्षेत्रमा पुगेका महिला र केटाकेटीहरूसहित करिब १०० रोहिंज्या पनि सोमबार इन्डोनेसिया अवतरण गरेको समूहसँगै बङ्गलादेशबाट गत फेब्रअरीमा छुटेका बताइएको छ ।

उनीहरूका अनुसार चार महिनाको कठोर यात्रामा तस्करहरूले अत्यधिक पैसा माग्दै पिटेको र बाँच्नका लागि आफ्नै पिसाब पिउन बाध्य परेको कठोर सङ्घर्ष सुनाएका छन् ।

किनारमा आइपुगेका दुवै समूह बङ्गलादेशबाट करिब ८०० को सङ्ख्यामा छुटेका आप्रवासीको हिस्सा हुनसक्ने अराकन प्रोजेक्टका निर्देशक लेवाले बताउनुभयो । ‘ठूलो प्रश्न यो हो कि ती सबै अहिले किनारमा आइसके वा अझै समुद्रमा छन् ।’

उहाँले सन् २०१५ पछि सोमबार इन्डोनेसिया अवतरण गर्ने समूह सबैभन्दा ठूलो समूह भएको बताउनुभयो ।

कोरोनाभाइरस महामारीको जोखिमका कारण सयौँ रोहिंज्यालाई मलेसियाली र थाई अधिकारीहरूले देश प्रवेशमा रोक लगाएको लेवाले बताउनुभयो ।

उनीहरूको खतरनाक परीक्षालाई तीराज्यले प्रवेशमा देखाएको सामूहिक अनिच्छाले उनीहरूको यात्रा छ महिनाभन्दा बढी लम्बिएको यूएनएचसीआरको बुझाइ छ ।

यूएनएचसीआर र अन्य अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी काम गर्ने संस्थाले बारम्बार यो चेतावनी दिएका छन् कि यदि समुद्री शरणार्थीलाई सुरक्षित र सहज ढङ्गले अवतरणका लागि अनुमति दिइएन भने यसले नराम्रो मानवीय दुर्घटना निम्त्याउने चेतावनी दिने गरेका थिए ।

उनीहरूले भने, ‘दुर्भाग्यवश बितेको छ महिनाको निष्क्रियता घातक भएको छ ।’

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)