रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशहरूमा पनि परीक्षण गरिने भएको छ ।
स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरूले जनाएका छन् ।
रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारीअनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (यूएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।
यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए । यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुन सक्ने उनको भनाइ छ ।
सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो ।
अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया