आबेको उत्तराधिकारीको लागि दौड शुरू, सुगाको पल्ला भारी

आबेको उत्तराधिकारीको लागि दौड शुरू, सुगाको पल्ला भारी


जापानको सत्तारूढ पार्टीले मङ्गलबार (८ सेप्टेम्बर) प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ ।

प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई कुशल नेतृत्वको छनोट हुने बताएका छन् ।

एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । जापानी मन्त्रीपरिषद्का मुख्य सचिवसमेत भई काम गरेका उनलाई सेप्टेम्बर १४ मा हुने लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को संसदीय दलको नेता बन्नका लागि पार्टीमा प्रमुख समूहहरुको समर्थन सुरक्षित भइसकेको बताइएको छ ।

एलडीपीमनिर्विरोध नेतृत्व हस्तान्तरण हुने अवस्था देखिएको छैन । नेतृत्व हात पार्न सुँगाले जापानी राजनीतिमा अर्का एक लोकप्रिय पूर्व रक्षामन्त्री र पार्टीको नीति प्रमुखसँगै संसदीय दलको नेता चयन हुनका लागि कडा प्रतिष्पर्धा गर्नुपर्नेछ ।

एलडीपीको ठोस विधायकीय बहुमतका कारण दौडका विजेताले सेप्टेम्बर १६ मा संसदमा बहुमत प्राप्त गरी प्रधानमन्त्री बन्न सक्नेछन् । एलडीपीसँग संसदको स्पष्ट बहुमत भएकोले उक्त पार्टीको संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भन्ने निश्चित छ ।

जापानको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री आबेले अचानक स्वास्थ्य कारणका लागि राजीनामा गर्ने घोषणा गरेका कारण एलडीपीले नयाँ सरकार गठनका लागि नेतृत्वको दौड सुरु गर्नु परेको हो ।

तत्कालका लागि जो प्रधानमन्त्री भएपनि प्रधानमन्त्रीले जनताको समर्थनको लागि निर्वाचनको घोषणा गर्ने जापानी राजनीतिबारे जानकार विश्लेषकहरूले अनुमान लगाएका एएपपीले जनाएको छ ।

सुगाले चाहिँ तत्काल आम निर्वाचन असम्भव हुने सङ्केत गर्दै नयाँ प्रधानमन्त्रीले महामारीविरूद्ध आफ्नो प्राथमिकतालाई अघि सार्ने बताएका छन् ।