इराक, अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी

इराक, अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गरेका छन् । ह्वाइट हाउसका अमेरिकी वरिष्ठ अधिकारीहरुले बताएअनुसार राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार (९ सेप्टेम्बर) र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्ने छन् ।

इराकी प्रधानमन्त्री मुस्तफा अल–काधेमीसँग गत अगस्टमा भएको भेटवार्तामा पनि राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिकी सैनिक फिर्ता हुने बताए पनि सैनिक फिर्ताको मिति भने घोषणा गरेका थिएनन् ।

पछिल्लो समय इराकभित्र अमेरिकी सैनिकमाथि लक्षित गरी इरान समर्थित लडाकूहरुले आक्रमण तीव्र बनाएका छन् भने इराकमा तैनाथ करिव ५ हजार अमेरिकी सैनिकलाई हटाउनु पर्दछ भन्ने इराकी जनमत पनि बढ्दो छ ।

इराकबाट सन् २०११ मा अमेरिकी सैनिक फिर्ता भए पनि अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक रहेका थिए ।

तर केही वर्षपछि इस्लामिक स्टेट विरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न भन्दै थप अमेरिकी सेना इराक पठाइएको थियो ।

अफगानिस्तानमा हाल आठ हजार ६०० अमेरिकी सैनिक तैनाथ छन् । अफगानिस्तानमा युद्धरत तालिबान समूह र अमेरिकी सरकारबीच गत फेब्रुअरीमा भएको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिक कटौती गरिएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले गत अगस्टमा अन्तर–अफगान शान्ति वार्तामा प्रगति भएमा अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या पाँच हजारभन्दा कम गरिने जनाएको थियो ।

एक्सिओसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन अगाडि नै सैनिक संख्या कटौती गरी ४ हजारदेखि ५ हजारमा सीमित गरिने बताएका थिए ।

अमेरिका–तालिबान सम्झौता बमोजिम अफगानिस्तानबाट आगामी सन् २०२१ भित्र सबै विदेशी फौज फिर्ता हुनु पर्नेछ । त्यसका निम्ति तालिबान समूहले सुरक्षा प्रत्याभूति दिनु पर्नेछ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले अन्त्यहीन युद्धमा सहभागी हुन नसक्ने भन्दै विश्वका युद्धग्रस्त मुलुकबाट आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्नु भएको छ ।