बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट व्यक्तिगत विवरण प्राप्त गर्न सक्ने

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट व्यक्तिगत विवरण प्राप्त गर्न सक्ने


बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनमा ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी विवरण विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने र सोही माध्यमबाट ग्राहकको पहिचान तथा कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसका लागि छुट्टै ई–केवाइसी पोर्टल बनाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान फाराम भर्नुको साथै विद्युतीय माध्यमबाट खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रुपमा सम्पुष्टि गरिने विधि तय गर्नुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरुपयोगबाट सुरक्षित रहन पर्याप्त सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ ।

यस्तै, सरकारले सामाजिक सुरक्षालगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले नयाँ खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नुअघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने छ ।

बैंकका सञ्चालकलाई नैतिक शिक्षा

बैंक तथा वित्तीय संस्थाका सञ्चालकले यदाकदा अशिष्ठ व्यवहार देखाएको पाइएपछि केन्द्रीय बैंकले शिष्ट भाषा बोल्न र कार्यवातावरण नबिग्रान भनेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको बुँदा नं ६२ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पदीय मर्यादा कायम राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ– ‘सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नुपर्नेछ, संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनै पनि किसिमको गतिविधि गर्नु गराउनु हुँदैन ।’