भारतमा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए

भारतमा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए


कोरोना भाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् ।

एकै दिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय अधिकारीहरुले बिहीबार (१० सेप्टेम्बर) जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये नौ लाख १९ हजार १८ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका उल्लेख गर्दै अरु ३४ लाख ७१ हजार ७८४ जना भने भाइरस सङ्क्रमणबाट मुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतका प्रदेशहरु मध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल नौ लाख ६७ हजार ३४९ जना सङ्क्रमित भएका छन् भने ती मध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् ।

त्यहाँ अहिलेसम्म २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ ।