‘उत्कृष्ट’ संविधानले दिएको सुख-समृद्धि !

‘उत्कृष्ट’ संविधानले दिएको सुख-समृद्धि !


वर्तमान संविधान लागू भएको पाँच पूरा भई छैठौँ वर्षप्रवेशको अवसरमा शासकीय बोली दोहोरिएको सुनियो– ‘सात दशक लामो सङ्घर्ष र बलीदानपछि जननिर्वाचित संविधानसभाद्वारा जनता आफैंले लेखेको उत्कृष्ट संविधान जारी भई त्यसले मुलुकलाई समृद्धिको दिशातर्फ लगिरहेको छ, सहमति र एकताको माहोलले समृद्धिको अभीष्ट भेट्न सघाइरहेको छ…।’ शासन–सत्तामा रहनेहरूका निम्ति यस्ता अभिव्यक्ति सार्वजनिक गर्ने काम सायद सामान्य दैनन्दिन क्रियाकलापअन्तर्गत नै पर्दो हो । त्यसैले उनीहरू बेहिच्किचाहट बोलिदिन सक्छन् कि चौतर्फी राम्रो नै राम्रो भइरहेको छ । तिनका दृष्टिमा देशभित्र दिनानुदिन पन्पिरहेका यावत समस्या समेटिन मुस्किल नै पर्दोरहेछ ।

वर्तमान संविधानले देशमा सहमति र एकताको भाव पैदा गराएको छ कि आक्रोश एवम् विद्रोहको जग निर्माण गरिरहेको छ, समृद्धिको सुदिन फिराउँदै छ या विकराल दुर्दिनलाई निम्तो दिँदैछ, सामाजिक सद्भाव हुर्काउँदै छ बिथोल्दै छ, जातजाति र भाषाभाषीबीच हार्दिकता हुर्काउँदै छ या बैमनष्यताको बिज रोप्दैछ, साँच्चै देशको अस्तित्वको रक्षा गर्दै छ कि विखण्डनको भासतर्फ डोहोऱ्याउँदै छ, यी सवालको जवाफ खोज्ने समय घर्किंदै छ । यस्ता सङ्गीन सवालहरूले दिन दुईगुणा रात चौगुणाको गतिमा लखेट्न थालिसक्दा पनि शासकहरू सुख–समृद्धि नै देख्छन् भने त्यस्तो मुलुकको दुर्दशाको निम्ति बेग्लै कुनै साइत कुरिहनु अवश्य पर्दैन । हो, अत्यन्त अप्रिय लागे पनि वर्तमान नेपालले ब्यहोरिरहेको यथार्थ यही नै हो ।

नेपाल सरकार कोभिड महामारीलाई चुनौती होइन अवसरको रूपमा उपयोग गर्ने कुरा गरिरहेको छ । तर, देश विकास गर्ने शासकले काम गरिदेखाउन कुनै महामारीलाई पर्खिरहनुपर्दैनथ्यो । प्रतिकुल परिस्थितिलाई चुनौतीभन्दा अवसर ठान्न सक्नेले सहज माहोलको भरपूर उपयोग गर्न सक्नुपथ्र्यो । यस कोणबाट भन्नुपर्दा देशको हाल बेहाल छ, कहालीलाग्दा समस्याको चाङमा चेपिएर त्रस्त छन् भने शासनसत्तामा रहेका अनि तिनका छत्रछहारी भेटेका ‘सत्तावादी’हरूलाई मस्ती छ । बिचौलियातन्त्रले ‘वैधानिकता’ हासिल गर्दै गरेको परिवेशमा सत्तालाई मुट्ठीमा कैद गर्न सक्ने ठूला व्यापारी, कमिसनखोर, भ्रष्ट र नेतृत्व रिझाएर बाँच्न पल्केका निकम्मा कार्यकर्ता–पङ्क्तिलाई यतिबेला चैन छ । नाम, दाम, मान पदवी तिनकै पोल्टामा वर्षिएका छन् ।

भ्रष्टाचारीको मुख नहेर्ने रट लगातार लगाइँदैछ । तर, भ्रष्टहरूको रोवरवाफ भुइँजनताले नियाल्नै नसक्ने गरी चर्किंदो छ । शासनको यो अजब तौरतरिकाका कारण सिङ्गै देश निकम्माहरूको जमातले भरिने खतरा पैदा भएको छ ।

केही गर्दै नगरी लुच्याइँ, धुर्त्याइँकै भरमा धन मात्र नभई मान–पदवी नै हात लाग्ने भएपछि मुलुकको लागि विशेष कर्म पो किन गरिरहनु पऱ्यो र ! भ्रष्टाचारीको मुख नहेर्ने रट लगातार दोहोऱ्याइँदै छ । तर, भ्रष्टहरूको रोवरवाफ भुइँजनताले नियाल्नै नसक्ने गरी चर्किंदो छ । शासनको यो अजब तौरतरिकाका कारण सिङ्गै देश निकम्माहरूको जमातले भरिने खतरा पैदा भएको छ । इमानसाथ कर्म गर्नेहरूको फजितीले त दुष्कार्यमा रमाउनेहरूकै जमात बढाउने त हो ! सत्ताले नै त्यस्तैलाई पश्रय दिने भएपछि इमानदार, कर्मठ, जाँगरिलो, स्वाभिमानी नागरिक लोप भएर जाने नै भयो !

तथापि, घोर विसङ्गतितिर मुलुक अघि बढेको र चरम समस्यामा जनता पिल्सिएकोतर्फ ध्यान नपुगेरै होला प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको शुभकामना बाँड्ने क्रममा कोभिड महामारीपछि विश्वकै अर्थतन्त्र डामाडोल हुँदा पनि हाम्रो आर्थिक वृद्धिदरबाहेकका परिसूचकहरू सकारात्मक नै रहेको भन्दै नेपाली जनतासमक्ष सुख जाहेर गरेका छन् । आफ्ना ‘सल्लाहकार’हरूले रटाएका समृद्धिसूचक तथ्याङ्क सुन्दै–सुनाउँदै सुखानुभूति गर्ने प्रधानमन्त्रीले आफैं बुझ्ने प्रयत्न गर्नुपर्ने हुन्छ कि आमनेपाली जनता यतिबेला के–कस्ता पीडाको आँशुमा डुबिरहेछन् ! भोकको ज्वाला अब विद्रोहकै राँको बन्ने हदमा हुर्किन लागेको बोध गर्नुपर्ने हो तलबाट टुप्पोसम्म पुग्न सफल केपीजस्ता नेताले ।

ठिक एक वर्षअघि पनि सरकारको अठारमहिने ‘उपलब्धि’ सुनाउँदै प्रधानमन्त्री ओलीले केही महिनाभित्रै भैरहवा विमानस्थल सञ्चालनमा आउने, माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन हुने, मेलम्चीको पानी पिएर काठमाडौवासी सन्तुष्ट बन्नेलगायतका दाबी गरेका थिए । तर ती केही पनि समयमा पूरा गरिएनन् । अब आएर कोभिड महामारीको थाप्लोमा यसको अपजश हालिँदै छ । अर्थात्, सरकारको निम्ति आफ्नो असफलता ढाक्ने बहाना बन्दैछ कोरोना महामारी ! एकतिर शासकीय शैली यस्तो छ भने आफूलाई परिवर्तनको सम्वाहक ठान्ने युवा वर्ग (जनता) व्यक्तिविशेषलाई फलानो स्थानमा बहाली गर् भन्दै टाउको फुटाउन उद्यत् छन् । जस्ता शासक उस्तै शासित ! अब सोचौँ– हामी उकालो नै उक्लिँदै छौँ त ?