विकासले गरे प्रवासबाटै फत्तेमानलाई उच्च सम्मान

विकासले गरे प्रवासबाटै फत्तेमानलाई उच्च सम्मान


■ राजन घिमिरे

गीत–संगीतमा निरन्तरता दिन या आफ्ना अग्रज स्रष्टाको उच्च सम्मानका लागि समर्पण हुन स्देशमा नै रहनुपर्छ भन्ने छैन । सर्जक जो जहाँ भए पनि आफूले श्रद्धा र माया गरेको क्षेत्रमा लाग्न अनि आफ्ना अग्रजलाई सम्झिनुका साथै ती अग्रज स्रष्टका कालजयी सृजनालाई प्रस्तुत गर्न सक्छ भन्ने गतिलो र सम्मानजनक उदाहरण हुन् गायक विकाश उप्रेती ।

हुन त उनी अष्ट्रेलियाको सिड्नीमा रहेको धेरै भैसक्यो, तर नेपाली गीत–संगीतमा उनले प्रवासबाटै निरन्तरता दिइरहेका छन् । करिव दुई दर्जन गीत बजारमा ल्याएर राम्रै प्रशंसा हात पारेका विकासको पछिल्लो उपस्थिति साँच्चै गर्व गर्न र स्याबासी दिनलायक रहेको छ ।

नेपाली गीत–संगीतका कालजयी स्रष्टा फत्तेमान राजभण्डारीको सम्झना र उनको सम्मानार्थ विकासले गाएको फत्तेमानको कभर गीतले यतिबेला विकासको उच्चता बढाएको छ । ‘फत्तेमानजस्ता कालजयी स्रष्टासँग नाम जोडिएर आउनु र उहाँको गीत गाउन पाउनु मेरो लागि कम गौरवको कुरा होइन । मैले आफूलाई धन्य ठानेको छु’– विकास गर्वका साथ भन्छन् ।

संगीतकार नातिकाजी जस्ता उच्च संगीत–स्रष्टाको संगीत रहेको ‘तिम्रो एक–एक दुःख मैले…’ बोलको यो गीत गीतकार राजेन्द्र थापाले तयार पार्नुभएको हो । गीतका दुइ स्रष्टा फत्तेमान र नातिकाजीको सोचलाई गीतकार राजेन्द्र थापाले युवा गायक विकाश उप्रेतीमार्फत नयाँ पुस्तामा पुऱ्याउन गर्नुभएको पहलकदमी साँच्चै स्वागतयोग्य छ। विकासले गाएको यो गीतमा नयाँ ऐरेन्ज भने किरण भण्डारीले भरेका छन् । उनले पनि अग्रज स्रष्टाको मूल मर्मलाई मर्न नदिएर न्याय गरेको देखिन्छ ।