बुटवल आन्दोलित, मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार

बुटवल आन्दोलित, मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार


विशेष प्रतिनिधि, रुपन्देही

प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णयका कारण असन्तुष्ट बन्न पुगेको बुटवल थप अशान्त बनेको छ । यसै विषयलाई लिएर आइतबार प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि बुटवलमा ढुङ्गा प्रहार भएको छ ।

काठमाडौंबाट रुपन्देही आउने क्रममा मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहानजिक आइतबार साँझ साढे ६ बजे ढुङ्गा प्रहार गरिएको हो । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको थियो ।

अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो । मुख्यमन्त्री सवार गाडीसहित उनको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौं गएका थिए । स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आइतबार पनि रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो ।

गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल लगायत ४ जनालाई पक्राउ गरेको छ ।