विशेष प्रतिनिधि, टोकियो (जापान)
पछिल्लो पटक नेपालबाट जापान आएका चार जना यात्रुमा कोरोना संक्रमण भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अक्टोबर २ तारिख नेपाल एयरलाइन्सको नियमित उडानबाट जापान आएका उनीहरुको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको कोरोना भाइरस परीक्षण पोजेटिभ पाइएको हो ।
संक्रमित व्यक्तिहरुमध्ये ४० वर्ष उमेर समुहका पुरुष टोकियो, ४० उमेर समुहकी महिला ह्योगो र १० वर्ष उमेर समुहका दुइ जना साइतामा प्रिफेक्चर गन्तव्य बनाएर आएका थिए ।
यसअघि सेप्टेम्बर ३० तारिखको उडानमा समेत नेपालबाट आएका तीन जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
संक्रमित पाइएका तीनैजना पुरुष रहेका छन् । ४० वर्ष उमेर समुहका उनीहरु मध्ये दुई जना खानागावा र एकजना टोकियोमा रहँदै आएका थिए ।
अगष्ट १४ तारिखको उडानमा ओकिनावा बस्दै आएकी २० वर्ष उमेर समुहकी एक युवतीमा कोरोना संक्रमण भएको पाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
कोरोना संक्रमण पुष्टि भए पनि उनीहरुमा संक्रमणको कुनै लक्षण भने नदेखिएको विवरणमा उल्लेख गरिएको छ । संक्रमित पाइएका सबैलाई सामान्य अवस्थामा पाइएको र यसअघि संक्रमित पाइएकाहरु सबै स्वास्थ्यलाभ गरिसकेको बताइन्छ ।
नेपालबाट आउने क्रममा नेपालमा नै अनिवार्य कोरोना संक्रमण भए–नभएको परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ । संक्रमण नभएको रिपोर्ट भएकाले मात्र जापानप्रवेशको अनुमति पाउने गरेका छन् ।
तर परीक्षणपछि संक्रमित व्यक्तिको सम्पर्कमा पुग्ने, घरदेखि विमानस्थल र विमानभित्र समेत कोरोना संक्रमणबाट जोगिन मास्क नलगाउने तथा सामाजिक दूरी कायम नगर्दा नेपालबाट आउने व्यक्तिहरुमा संक्रमण बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।
जापान सरकारले नेपालसहित सबै देशबाट आउने नागरिकको विमानस्थलमा नै कोरोना संक्रमण भए–नभएको अनिवार्य परीक्षण गर्दछ । यसबाहेक जापानको विमानस्थलमा आइपुगेर प्रवेश पाउनेलाई अनिवार्य १४ दिन सेल्फ क्वारेन्टिन बस्नुपर्ने नियम कडाइका साथ लागू गरेको छ । जसमा विमानस्थलदेखि आफ्नो निवाससम्म सार्वजनिक सवारीका साधन प्रयोग गर्न नपाउनेसहित १४ दिन सार्वजनिक स्थल वा बाहिरि यात्रामा रोक लगाइएको मानिने छ ।
विशेषगरी नेपालमा कोरोना परीक्षण गरेपछि अनिवार्य सामाजिक दूरी कायम गर्दै मास्क लगाउने र उडानकै क्रममा पनि अरुसँग बोल्दा मास्क खोल्ने काम नगर्न सचेत रहनुपर्दछ ।
प्रतिक्रिया