विशेष निर्देशिका जारी गर्न गृह र पर्यटन मन्त्रालयलाई अन्तरराष्ट्रिय सम्बन्ध समितिको निर्देशन

विशेष निर्देशिका जारी गर्न गृह र पर्यटन मन्त्रालयलाई अन्तरराष्ट्रिय सम्बन्ध समितिको निर्देशन


कोभिड–१९ को सङ्क्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायसमेत समाविष्ट विशेष निर्देशिका बनाई जारी गर्न प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आइतबारको बैठकले नागरिक उड्डयनको हालको अवस्था र कोभिडको प्रभावबारे पर्यटनमन्त्रीसँग छलफल गर्दै महामारीका कारण पर्यटन क्षेत्रमा परेको गम्भीर सरको अध्ययन–विश्लेषण गर्दै विशेष निर्देशिकानुरूप विमानस्थल, विमान सेवा र सोसम्बन्धी सेवा तथा होटल व्यवसाय सञ्चालन गर्ने स्थिति बनाउन आग्रह गरेको हो ।

बैठकले राष्ट्रिय हवाई नीति, २०७३ मा समयसापेक्ष अद्यावधिक एवम् संशोधन गरी प्रस्पिर्धाका माध्यमबाट भूमिस्थ प्रबन्धसम्बन्धी निर्णय गर्न पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

उद्धारका लागि हेलिकोप्टरको उडान अनुमतिको अधिकार स्थानीय प्रशासनलाई दिने सम्बन्धमा गृहमन्त्री रामबहादुर थापासँग छलफल गर्दै समितिले उच्च हिमाली क्षेत्रमा गरिने हेलिकोप्टर उडानलाई सहज तुल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको सिफारिसमा यथाशीघ्र हेलिकोप्टर उडान अनुमति दिने व्यवस्था मिलाउन समितिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

pict:rss