नेपालमा कोरोना संक्रमितहरुको संख्या करिव नब्बे हजार पुग्यो

नेपालमा कोरोना संक्रमितहरुको संख्या करिव नब्बे हजार पुग्यो


नेपालमा सोमबार (१९ असोज) थप २,४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएकासहित नेपालभर कोरोना संक्रमितको कुल संख्या ८९,८६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सोमबार थप १,५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोमबार ११३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ६५,५०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३,७८१ जनाको पीसीआर परीक्षण गरिएको बताइएको छ ।

यस्तै, नेपालमा कोरोना भाइरसबाट हालसम्म मृत्यु भएकाको संख्या ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएपछि संख्या साढे पाँच सय नाघेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा ७६ वर्षीया, ८१ वर्षीया र ८३ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमै २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय, ९१ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै ललितपुरमा ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुषको मृत्यु भएको छ भने पर्सामा ६५ र गोरखामा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सर्लाहीमा ४२ वर्षीय र ६९ वर्षीय पुरुष, सुनसरीमा ५५ वर्षीय पुरुष चितवनमा ६२ वर्षीय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ।