चाडपर्व नजिकिएसँगै प्रहरीले बढायो सक्रियता

चाडपर्व नजिकिएसँगै प्रहरीले बढायो सक्रियता


चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको हो ।

मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको प्रवक्ता कडायतको भनाइ छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी गराए । उनका अनुसार प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुआत समेत गरिएको छ ।

सोही अभियानअन्तर्गत केही दिनअघि प्रहरीले मिति सकिएको रु चार करोड बराबरको खाद्य वस्तुमा नयाँ मिति राखेर विक्री गर्न खोज्ने सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

एसएसपी ज्ञवालीका अनुसार यही असोज १८ गते काठमाडौ. महानगरपालिका १४ कलङ्की स्थित प्रविणकुमार बन्कासहितका व्यक्तिले सञ्चालन गरेको एएसटी कम्पनीमा मिति सकिएको खाद्य सामग्रीमा नयाँ मिति टाँसेर बजार लैजाने तयारी गर्दैगर्दा सात जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारवाहीका लागि पठाइएको छ ।

त्यसको दुई दिन अघि पनि यस्तै गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताउ । उनका अनुसार मिति सकिएका सामग्रीमा नयाँ मिति राखेर विक्री वितरण गर्न लागेको सूचना आएपछि काठमाडौंको कलङ्की र बाफल क्षेत्रमा खोजी गर्दा अबैध क्रियाकलापमा संलग्न आठ जनालाई पक्राउ गरिएको थियो ।

उनीहरु पनि मिति सकिएको सामग्रीमा नयाँ मिती राखेर विक्री बेचविखन गर्ने तयारी गरिरहेका बेला पक्राउ परेका थिए ।