कोरोनाको त्रास दबाउँदै तीन हजार नेपाली भारत प्रवेश

कोरोनाको त्रास दबाउँदै तीन हजार नेपाली भारत प्रवेश


■ प्रिन्स मिश्रा, कृष्णनगर (कपिलवस्तु)

भारतबाट फर्केका नेपालीहरू भोको पेट पाल्न पुनः भारत जाने क्रम बढेको छ । भारतमा कोरोनासङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि राज्यले जिवीकोपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले कोरोनाको त्रासलाई ह्याकुलाले मिचेर तीन हजार नेपाली कामका लागि भारत प्रवेश गरेका छन् ।

लामो समयदेखिको लकडाउन र कोरोना कहरले गर्दा खान–लाउन मुस्किल भएकोले काम खोज्दै नेपालीहरू भारततिर गएका हुन् । लकडाउन सुरु भएपछि नेपाल फर्किएकाहरू पनि कोरोना कहरको बीचमै पुनः भारतमा रोजगारीका लागि गएका प्रहरी नायव निरीक्षक रेशमबहादुर जीसीले बताए ।

कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पालगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगरका नायव निरीक्षक जीसीले जानकारी दिए । भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको खुलासा गरे । कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाइ छ । उनले भारतीय आधार कार्ड भएकालाई मात्र भारत जान दिएको जानकारी पनि दिए । दैनिक सय जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको उनको भनाइ छ ।

लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरू पछिल्लो समय भारत जान थालेको प्रहरी नायव निरीक्षक गयन्द्र गिरीले पुष्टि गरे । कोरोनाको सङ्क्रमण बढेपछि मरे पनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि त्यतै जान थालेको उनले स्पष्ट पारे ।

‘नेपालमा काम नपाएर खान–लाउन नै समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान थालेका उनको प्रष्टोक्ति छ । उनले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न केही छुट गरिएको बताए । वडा कार्यालयको रिफारिस र परिचय पत्र राखेर केही समयका लागि नेपाल–भारत आवतजावत गर्न दिइएको जानकारी उनले दिए ।

कृष्णनगर नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरू कुकुरभुक्वा, सेमरा नाका भएर पनि जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि सुरक्षाकर्मीले जान दिने गरेका छन् । आधार कार्ड नभएकाहरू वैकल्पिक बाटोबाट भारत प्रवेश गर्न थालेपछि भीडभाड कम हुने गरेको छ ।