■ आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेपालकै लोपोन्मुख कोलवृक्ष पाइएपछि गाउँपालिकाकाले यसको संरक्षणमा चासो दिन थालेको छ ।
आयुर्वेदिक महत्वले कुष्ठ तथा छाला रोगमा औषधीको रुपमा प्रयोग हुने यस कोलवृक्षले प्राचीन कोलीय गणराज्यको इतिहास र महत्व पनि बोकेको छ ।
सरावल गाउँपालिका २ जावामा रहेको कोलवृक्षको बगैँचा नै छ जसको संरक्षणमा सरावल गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
कोलवृक्षको संरक्षण र यसलाई पर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी विभिन्न भौतिक पुर्वाधार र सुन्दरीकरणमा काम गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । कुष्ठ र छालारोगलाई निको पार्ने औषधिको रुपमा प्रयोग हुने यस कोलवृक्षको आयुर्वेदिक महत्व बारे गाउँपालिकाले थप अनुसन्धान पनि गरिरहेको छ ।
यस्तो छ कोलबृक्षको प्राचीन इतिहास
कोलवृक्षको इतिहास इसापुर्व ७ सय वर्षपहिला बनारसका राजा रामलाई कुष्ठरोग लागेपछि सन्चो हुन उनलाई उनका बैद्यहरुले कोलवृक्षको बगैँचामा बस्ने, वृक्षको लेप लगाउने र पात खाने सल्लाह दिएको पौराणिक शास्त्रमा उल्लेख छ ।
बैद्यको सल्लाहअनुसार राजा रामले आफ्नो केही नजिकका प्रजा (जनता)सँग उनी कोलबगैँचामा पुगे र त्यसै कोलवृक्षमुनि बसोबास गरी वृक्षको लेप लगाएर पात खाएपछि उनको कुष्ठरोग सन्चो भयो ।
रोग सन्चो भएपछि राजा घर नफर्की यसै क्षेत्रमा बसोबास गर्न थाले र यस क्षेत्रको नाम यसै कोल वृक्षको नामले कोलिय गणराज्य नामाकरण हुन पुग्यो । यस कोलिय गणराज्यको सीमा पश्चिममा रोहिणी नदी, उत्तरमा अनोमा घाट नारायणी नदी, उत्तरमा चुरे पहाड र दक्षिणमा पिपलीबनसम्म फैलिएको थियो ।
यसलाई शान्तिका अग्रदुत गौतम बुद्धको इतिहाससँग पनि जोडिएको छ । किनभने यसै कोलिय गणराज्यमा गौतम बुद्धको मावली पण्डितपुर, उहाँको अस्तिधातु रहेको रामग्राम स्तुप र उहाँ नुहाएको विभिन्न तालपोखरी र ध्यान गरेको विभिन्न एतिहासिक धार्मिक स्थलहरु व्यापक मात्रामा पाइने स्थानीयले जानकारी दिएका छन् ।
कोल बगैँचाको इतिहास र महत्वलाई थप उजागर गर्न गाउँपालिकाले वार्षिक कार्ययोजना बनाइ अगाडि बढिरहेको बुझिएको छ । करिव १० बिगाहा क्षेत्रफलमा फैलिएको उक्त बगैँचा नजिकै जावा ताल पनि रहेको छ । विद्धानहरुले यो बगैँचा र ताल एतिहासिक र पुरातात्विक क्षेत्र रहेको दाबी गर्दै यसको उत्खननका लागि माग पनि गरेका छन् । यो कोलवृक्ष बगैँचाक्षेत्र कोलिय गणराज्यको ककरपत्ता नगरनिगम हुन सक्ने विद्धानहरुको निष्कर्ष रहेको छ । यस क्षेत्रको विकासका लागि गाउँपालिकाकाले बगैँचाको गेट, फुटवे, बनाएर सो क्षेत्रलाई चिनाउन बुद्धको स्टैचु पनि राखिएको छ ।
उक्त क्षेत्रका विकासका लागि त्यहाँ सभाहल, खेलमैदान, पार्क, तालमा डुङ्गा सफारी, कोलवृक्षको गणना, ध्यानकेन्द्र, बगैचाको सुन्दरीकरण र होम स्टेसमेत संचालका कार्यक्रमहरु संचालन गर्ने गाउँपालिकाका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभयो । यस क्षेत्रको उत्खनन गरि यसको महत्व र इतिहास उजागर गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया