सहकर्मी महिला शिक्षकलाई अश्लील हर्कत गर्ने एक शिक्षक दाङमा पक्राउ परेका छन् । घोराहीस्थित सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार रानालाई विद्यालयमा कार्यरत महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ गरिएको हो ।
आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए ।
पीडित शिक्षक महिलाको उजुरीको आधारमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए । पक्राउ परेका शिक्षक रानामाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
यसैबीच अश्लिल हर्कत गरेको आरोपमा शिक्षक रानालाई विद्यालयले निष्काशन समेत गरेको छ । विद्यालयले एक विज्ञप्ती जारी गरी घटनामा संलग्न भएको आरोप लागेका शिक्षकलाई विद्यालयबाट निष्कासन गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया