रौतहटमा रोकिएन अपराधिक घटनाक्रम, फेरि एक युवतीको हत्या

रौतहटमा रोकिएन अपराधिक घटनाक्रम, फेरि एक युवतीको हत्या


आरके श्रीवास्तव, रौतहट

रौतहटमा बुधबार (२१ असोज) फेरि एक युवतीको हत्या भएको छ । दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका १७ वर्षीया युवतीको शंकास्पद अवस्थामा शव फेला परेको हो ।

प्रहरीले जनाएअनुसार दुर्गा भगवती—४ छतौना बस्ने लाल महम्मद धुनियाकी १७ वर्षीया छोरी रोविना मन्सुरीको शव बुधबार साँझ ४ बजे फेला परेको हो ।

छतौनाका ३३ वर्षीय फुल महम्मद, ४२ वर्षीय लाल महम्द, ५० वर्षीय नसरुद्दीन मन्सुरी र निजकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरीसहित चार जना मिलेर छिमेकी जनरल कवाडीको घरमा राखी उनीहरु फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय गंगा पिपरालाई उनीहरुले खबर गरेपछि तत्कालै प्रहरी पुगेर अनसन्धान कार्य गरेको थियो । प्रहरीले फुल महम्मदलाई नियन्त्रणमा लिइसकेको र जुनैद मियाँलगायतका फरार व्यक्तिहरुको खोजी शुरु गरेको छ । साथै अनुसन्धान कार्य पनि अघि बढाइएको डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

मृतकको घाँटीमा ताजा दाग देखिएको हुँदा शवलाई पोष्टमार्टमसहितको आवश्यक प्रक्रिया पूरा गर्न गौर अस्पतालमा शव लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।