मित्रराष्ट्र भारतको ३ करोड ३० लाख सहयोगमा विद्यालय भवन निर्माण

मित्रराष्ट्र भारतको ३ करोड ३० लाख सहयोगमा विद्यालय भवन निर्माण


कैलालीको टीकापुरस्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको बिहीबार (२२ असोज) उद्घाटन गरिएको छ ।

मित्रराष्ट्र भारतको ३ करोड ३३ लाख आर्थिक सहयोगमा निर्माण भएको नयाँ विद्यालय भवनको काठमाडौं स्थित भारतीय राजदूतावास, कैलाली जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरूद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको हो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा बनेको सो दुई तल्ले विद्यालय भवनमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइका व्यवस्थालगायत सुविधाहरू रहेको बताइएको छ ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअन्तर्गत विद्यालय भवन निर्माण परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) को रुपमा अघि सारिएको सम्बद्ध पक्षको भनाइ छ ।

सुदुरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइएको छ ।

ज्ञातव्य छ, श्री सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो । हाल विद्यालयमा ५ सय ५० जना विद्यार्थी अध्ययनरत रहेकामध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ–वातावरणलाई सुदृढ गर्ने अपेक्षा सरोकारवाला पक्षले गरेको छ । यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुऱ्याएको दूतावासको भनाइ छ ।