लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । प्रदेशको राजधानी र नामाकरणपछि बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले उक्त क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने तर्क गरे ।
प्रदेश सरकारले यसअघि दाङको राप्ती, गढवा गाउँपालिकाको वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । गैरकानुनी रुपमा किनबेच हुन सक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका छन् ।
राप्ती उपत्यकाको राप्ती, गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा १, २ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न पनि उनले आग्रह गरे । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने जानकारी दिए । उनले नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताए ।
तत्काललाई हेरेर नभई ५० वर्षपछिसम्म पनि व्यवस्थित शहर रहने गरी योजना गर्ने र योजनाका माध्यमबाट मान्छेको सोच बदल्ने उनको दाबी छ ।
राजधानी र नामको टुङ्गो सही ढंगले लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको जिकिर पनि मूख्यमन्त्री पोखरेलले गरेका छन् ।
प्रतिक्रिया