कोरोना भाइरस सङ्क्रमणबाटदमक (झापा)का एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।
गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमणबाट दमकमा मृत्यु हुनेको सङ्ख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
यस्तै, सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए । सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भटिएपछि होमआइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ ।
यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । बताइएअनुसार हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन् । यही असोज १७ गते सङ्क्रमण भएका रिमालले बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
रिमालसँगै प्रमका प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएकोमा उनीहरु सबै अहिले आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया