संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज (२३ असोज) शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको बताइएको छ ।
हवाई क्षेत्रका सम्बन्धमा उहाँहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण बन्द रहेको काठमाडौं र भारतका विभिन्न शहरबीचको उडान चाँडै गर्नेबारेमा पनि उहाँहरुबीच कुराकानी भएको थियो भने संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति मन्त्री भट्टराईले धन्यवाद व्यक्त गर्नुभएको र राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको जनाइएको छ ।

प्रतिक्रिया