नेपालमा कोभिड १९ संक्रमितको कुल संख्या १,००,६७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको र योसहित कुल संख्या एक लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा थप १,०४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंका १,११६, ललितपुरका १६३ र भक्तपुरका १३० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट हालसम्म ६ सय जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार १,६८० जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या ७३,०२३ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३,२७९ जनाको पीसीआर परीक्षण गरिएको र हाल देशभर ४,७०३ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
यसैक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा रहेका र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिएका छन् । मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पिसिआर परीक्षण गरिँदै छ ।
प्रतिक्रिया