सुस्ता बलिनगरमा बोर्डर आउट पोस्ट स्थापना

सुस्ता बलिनगरमा बोर्डर आउट पोस्ट स्थापना


सशस्त्र प्रहरीबल नेपालले पश्चिम नवलपरासी सुस्ताको बलिनगरमा बोर्डर आउट पोस्टको स्थापना गरेको छ ।

नेपाल भारत अन्तराष्ट्रिय सीमा क्षेत्रमा थप शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षाका साथै राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बोर्डर आउट पोस्टको स्थापना गरिएको सशस्त्र प्रहरीबल नेपाल २६ नं. गणका गणपति महेश अधिकारीले जानकारी दिएका छन् ।

सुस्ता गाउँपालिका ५ बलिनगरमा रहेको एक बिघा एक कट्ठा सार्वजनिक जग्गामा बीओपी स्थापना गरिएको जानकारीसहितै शनिबार स्थापना भएको बलिनगर बीओपी ४.७ किलोमिटर दक्षिणी सिमानाकामा शान्ति सुरक्षा निगरानी, रेखदेख, संरक्षण गरिने बताइएको छ ।

बोर्डर आउटपोस्टको उदघाटन गर्दै सशस्त्र प्रहरीबल नायब महानिरीक्षक एवम बाहिनीपति किशोर प्रधानले सिमा क्षेत्रमा स्थापना भएको बिओपीबाट सिमा नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण र रोकधाम गरिनुका साथै नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभुति दिने उद्देश्यले यो कार्यबाट अझ बढि विश्वासको वातावरण बढ्ने बताए ।

उनले सुरक्षा फौजको उपस्थितिलाई सङ्काको रुपमा नहेरेर अवसरको रुपमा हेर्न पर्ने धारणा राखेका थिए । सुरक्षा निकायमा अनुशासन, असल आचरण र इमान्दारीको भावनालाइ पुर्ण पालना गरिए समुन्नत समाज निर्माण गर्न सकिने विश्वास पनि उनले व्यक्त गरे । कार्यक्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पान्डे, प्रहरी उपरिवेक्षक अजय क्षेत्रीलगायतको उपस्थिति रहेको थियो । हाल पश्चिम नवलपरासीमा ५ को सङ्ख्यामा सशस्त्र प्रहरीबल नेपालको बोर्डर आउटपोस्ट रहेको २६ नं. गण नवलपरासीले बताएको छ ।