भेरीमा कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त

भेरीमा कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त


बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

बताइएअनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

यससहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० सङ्क्रमित सिकिस्त अवस्थामा छन् ।

देशभरमा एकै दिन पाँच हजार बढी सङ्क्रमित थपिए

यता काठमाडौं उपत्यकामा २,६७२ सहित ५,००८ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा शनिबार प्रवक्ता प्राडा जागेश्वर गौतमले कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार २२९ जना रहेको जानकारी दिए ।

हालसम्म देशभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ३०,८१८ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिहरुको सङख्या १३,६५४ छ । प्रदेश १,४७७, प्रदेश २ मा ५०९, बाग्मती प्रदेशमा ९,१०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा १,२७२, कर्णाली प्रदेशमा ५५४ र सुदुरपश्चिम प्रदेशमा ११४ जना छन् ।

प्रवक्ता गौतमका अनुसार कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.२ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२१ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या ७७ रहेको छ । हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढि सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् । विश्वमा हालसम्म तीन करोड ७१ लाख ५२ हजार १२५ जना व्यक्तिहरु कोभिड–१९ बाट सङ्क्रमित हुनु भएको छ भने निको हुनेको सङ्ख्या दुई करोड ७९ लाख १८ हजार ६३६ रहेको छ ।