चिकित्सा क्षेत्रसम्बन्धी विभिन्न माग उठाएर विगत २७ दिनदेखि अनशनमा रहेका चिकित्सक गोविन्द केसीले अनशन तोडेका छन् । सरकारी वार्ताटोलीसँग शनिबार मध्यरातमा आठबुँदे सहमति भएपछि डा. केसी आफ्नो १९औँ अनशन तोड्न तयार भएका हुन् । आज (२५ असोज) बिहान दश बजे चिकित्सक केसीद्वारा अनशन तोडिएको औपचारिक घोषणा गरिँदै छ ।
सरकारका तर्फबाट वार्ताटोलीका संयोक बनाइएका शिक्षा सचिव गोपीनाथ मैनालीले ट्वीट गर्दै मध्यरातमा चिकित्सक केसीसँग सहमति भएको जानकारी दिएका हुन् । सचिव मैनालीले ट्वीटमा भनेका छन्, ‘आज राती १२ः५ मा अनसनरत प्राडा गोविन्द केसी र नेपाल सरकारबीच डा केसीले उठाउदै आउनुभएका चिकित्सा सेवासम्बन्धी विषयमा ८ बुँदे सहमति भइ जारी अनसन तोडिएको छ । यस कार्यमा मार्गदर्शन गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूमा हार्दिक आभार !’
बताइएअनुसार डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ ।
यसअलावा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य प्रतिष्ठानसम्बन्धी विधेयकको तीन साताभित्र सुझाबसहितको मस्यौदा तयार पार्ने, कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्ने तथा राष्ट्रिय चिकित्सा ऐन संशोधन गर्न गठित कार्यदलको क्षेत्राधिकारभित्र सरकार र डा केसीबीच १० साउन २०७५ मा भएको सम्झौता अनुसार छुट भएका विषयलाई समेत राख्ने लागयत बुँदामा सहमति भएको छ ।
ज्ञातव्य छ, चिकित्सक केसीले १९औँ पटकको अनशन जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।
प्रतिक्रिया