विशेष प्रतिनिधि, टोकियो (जापान)
नेपाल एयरलाइन्सको सिधा उडानमार्फत जापान आएका चार जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।
अक्टोबर ९ तारिखको उडानमा जापान आएका उनीहरुमा नारिता विमानस्थलमा गरिएको परीक्षणमै कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकअनुसार संक्रमित हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।
विवरणअनुसार तीन जना ४० वर्ष र एकजना २० वर्ष उमेर समुहका छन् । उनीहरुमध्ये ४० वर्षीया महिलामा खोकी र ज्वरोको लक्षण पाइएको थियो । अन्य तीन जनामा भने कुनै लक्षणरसंकेत नपाइएको बताइएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमण भयावह बन्दै जाँदा नेपालबाट आउने हरेक उडानमा पछिल्लो समय कोरोना संक्रमितहरु पुष्टि हुन थालेका छन् ।
शनिबार थपिएका ४ जनासहित नेपालबाट आएका ब्यक्तिमा जापानको विमानस्थलमै कोरोना संक्रमण पुष्टिको संख्या १३ पुगेको छ ।
नेपालमा कोरोना परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएपछि सामाजिक दूरी कायम नगर्ने तथा अनावश्यक भेटघाटलगायत ब्यवहारमा खेलाँचीपूर्ण ब्यवहार गर्दा नेपालबाट आएकाहरुमा संक्रमण भएको पाइएको छ ।
पछिल्लो उडानमा आएर संक्रमण पुष्टि भएका एक ब्यक्तिले दिएको जानकारीले समेत यसलाई प्रमाणित गरेको छ । त्यसबाहेक नेपालमा गरिएको परीक्षण रिपोर्टमा पनि आशंका गर्न थालिएको पाइन्छ ।
जापान आउने नेपालीमा संक्रमण वृद्धि तथा नेपालमा समेत महामारी बढिरहँदा आगामी दिनमा जापानले नेपालबाट आवासीय भिसा भएकालाई आउन दिएको छुटलाई थप कडाइ गर्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया