सरसफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन

सरसफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन


गत भदौ १९ देखि अनशनरत चिकित्सक गोविन्द केसीले सरकारसँगको आठबुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् ।

डा. केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । जुम्लाबाट १९औँ अनशन शुरु गरेका केसीको स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाडौं ल्याएको थियो ।

गएराति सरकारी वार्ता समिति र डा. केसीबीच आठ बुँदे सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनाली र डा. केसीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेसमेतको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।

यसैगरी, प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत परियोजना प्रस्तावसम्बन्धी कार्य प्रारम्भ भइसकेको जनाएको छ ।