प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ लाई परास्त गर्नका लागि आयुर्वेदलाई प्रयोगात्मक बनाउन आयुर्वेद चिकित्सकहरूलाई आह्वान गरिरहेका बेला आयुर्वेद चिकित्सक बीपी तिम्सिनाद्वारा सञ्चालित पाथीभारा अस्पतालले वितरण गर्दै आएको औषधिमा प्रतिबन्ध लगाइएको छ ।
कोरोना नभएकालाई ‘इम्युनिटी’ बढाउने र कोरोना ‘पोजेटिभ’ देखिएकालाई स्थिति जाँच गरेर औषधी दिने गरिएको थियो । उक्त औषधी खाएर निको भएका कोरोना बिरामीहरू धमाधम निको भएर आफ्ना अनुभव सामाजिक संजाल र मिडियामा ल्याउन थालेपछि औषधी व्यवस्था विभागका कर्मचारी पाथीभारा गई कोरोनासम्बन्धित औषधी जफत गरी बिक्री वितरणमा रोक लगाएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले डा. बीपी तिम्सिनालाई भेटेर आयुर्वेदलाई प्रवद्र्धन गर्न तथा कोरोना परास्त गर्न उहाँले गरेको कामको प्रशंसा गर्नु भएको तोश्रो दिन गत बिहीबार औषधी जफत गरिएको थियो । स्वास्थ मन्त्रालयअन्तर्गतको औषधी ब्यवस्था विभागले गरेको यस्तो कार्यका बारेमा सम्भवतः प्रधानमन्त्री अनभिज्ञ हुनुहुन्छ ।
प्राप्त जानकारीअनुसार विभागबाट गएका फार्मेसी अधिकृत राजेश श्रेष्ठ र आशा थापाले लेबलिङ नगरी औषधी बेचेको भन्ने उजुरी परेको भन्दै औषधी उठाएर लगेका थिए । पाथीभाराका स्वास्थकर्मीहरू आफैले बनाएर आवश्यक परेका ब्यक्तिहरूलाई तत्काल दिँदै आएका कारण लेवलिङ गर्न सम्भव थिएन । आयुर्वेदका धेरै औषधीहरूको लेबलिङ गरिएको हुँदैन ।
पाथीभराबाट कोरोनाको रोकथामका लागि एक जनालाई पाकेटको एक सयका दरले दुई सय रुपैयाँको दुई वटा औषधी दिने गरिएको थियो । स्वास्थ विभागका मानिसहरूले बितरण गर्न नमिल्ने भनी प्रतिबन्ध लगाएपछि अहिले औषधी खाएर निको भएकाहरूले सिफारिश गरेका मानिसहरू औषधी खोज्दै अस्पताल पुगे पनि प्राप्त गर्न सकेका छैनन् । पाथिभाराका सञ्चालक बिपी तिम्सिना अहिले मुलुकबाहिर हुनुहुन्छ । उहाँले अन्य औषधी निर्माण रोकेर अहिले कोरोनाको विरुद्धमा इम्युनिटी बढाउने औषधीमा आफूहरूको विज्ञता केन्द्रीत गर्दै आउनुभएको थियो ।
कुनै पनि अस्पतालले भर्ना नलिएपछि कोरोनाका बिरामीहरू पाथीभारा पुग्ने गरेका थिए । अस्पतालका डाक्टरहरुले पीपीइमा बेरिएर पनि बिरामीलाई नछोइरहेको परिप्रेक्ष्यमा कोरोनाका बिरामीलाई डा. बीपी तिम्सिना र उहाँको टिमले बिनापञ्जा नाडी छोएर जाँच गरी औषधीको मात्रा दिने गरेका थिए ।
अध्यागमन विभागका उपसचिव श्रीचन्द्र शाहदेखि ललितपुरका ब्यवसायी रमेश श्रेष्ठ सम्म धेरै मानिसहरु पाथीभाराको औषधीले कोरोनालाई परास्त गर्न सफल भएका थिए । कोरोनाको लक्षण भएका बिरामीहरूलाई अहिले कुनै पनि अस्पतालले भर्ना नलिइरहेका बेला उक्त अस्पतालले जाँचेर औषधी दिइ आत्मविश्वास बढाएको थियो । डा. बीपीको यस्तो कामको चर्चा सुनेर प्रधानमन्त्रीले भेट्न बोलाई प्रोत्साहन दिनुभएको थियो ।
पाथीभराले सुगर, प्रेसर, थाइरोइड, निमोनियालगायतका बिरामीहरू हेर्दै आएको छ । बालकृष्ण ढुङ्गेलको मृगौलाको समस्यादेखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको नशाको समस्यामा सोही अस्पतालको उपचार गरेको हो । कोरोनालाई परास्त गर्न आयुर्वेदलाई प्रोत्साहित गर्ने प्रधानमन्त्रीको चाहनालाई यो घटनाले निरुत्साहित त बनाएको छ नै मेडिकल माफियाहरु आयुर्वेदसंग कति आतंकित भएका छन् भन्ने प्रमाणित पनि गरेको छ ।
प्रतिक्रिया