नेपाली श्रमिकलाई दूतावासद्वारा दैनिक क्रियाकलापदेखि घरफिर्ती तयारीसम्मको अनलाइन परामर्श

नेपाली श्रमिकलाई दूतावासद्वारा दैनिक क्रियाकलापदेखि घरफिर्ती तयारीसम्मको अनलाइन परामर्श


सिउल (दक्षिण कोरिया) स्थित नेपाली राजदूतावासले नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्न थालेको छ । द. कोरियामा रहेका नेपालीको मानसिक तथा शारीरिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालगायतलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा अन्य मुलुकमा रहेका विज्ञद्वारा परामर्श तथा अभिमुखीकरण तालिम सञ्चालन शुरु गरिएको दूतावासले जनाएको छ ।

बताइएअनुसार आइतबार (अक्टोबर ११ तारिख)देखि आगामी डसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन हुने छ ।

एनआरएनए कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया, महिलाको लागि महिला, नेपाली विद्यार्थी समाजलगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो परामर्श कक्षा सञ्चालन आरम्भ भएको हो ।

पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि, दोस्रो हप्ता महामारीबाट बच्न खानपान र जीवनशैली, तेस्रो हप्ता पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता, चौथो हप्ता मानसिक स्वास्थ्य, पाँचौं हप्ता तनाव व्यवस्थापन र छैटौं हप्ता खुसीपूर्वक जिउने कलाका बारेमा सिकाइने प्रशिक्षण दिइने जनाइएको छ ।

त्यस्तै, सातौँ हप्ता स्वास्थ्य र साधना, आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व, नवौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएकाको उद्यमशीलताका लागि सरकारी नीति, दशौँ हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरू, एघारौँ हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र १२औँ हप्ता घरफिर्ती तयारीका बारेमा कक्षा सञ्चालन गरिने कोरियाका लागि नेपाली श्रम सहचारी रमा भट्टराईले जानकारी दिएकी छन् ।