रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज (२६ असोज) बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या४० जना पुगेको छ ।
यसैगरी, चितवनको भरतपुर अस्पतालमा पनि एक कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् ।
बताइएअनुसार महिलाको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।
यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा सोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।
प्रतिक्रिया