बझाङको मष्टा गाउँपालिकाका एक कोरोना संक्रमित युवक शनिबार आइसोलेसनबाट भागेका छन् । मष्टा गाउँपालिका वडा नम्बर ३ सेरा गदाडा टोलका एक २८ वर्षीय युवक शनिबार राति आइसोलेसनबाट भागेका हुन् । भागेतोला आधारभूत स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेसनबाट उनी भागेको वडाध्यक्ष टेकबहादुर कठायतले बताए ।
उनी घर आएको ७ दिनपछि असोज २१ गते उनको नमुना स्वाब संकलन गरिएको थियो । असोज २२ गते जिल्ला अस्पताल बझाङको प्रयोगशालाबाट कोरोना पुष्टि भएको थियो ।
उनी असोज १५ गते भारतबाट आएर सिधै घर पुगेका थिए । ७ दिनसम्म उनी घर र समुदाय घुलमिल भएर रहेका वडा अध्यक्ष कठायतको भनाइ छ । गाउँमा निर्वाध डुलिरहेका उनलाई २३ गते प्रहरीले नियन्त्रण लिएर भागेतोला आधारभूत स्वास्थ्य केन्द्र राखेको थियो । उनी २४ गते राति फोन गर्ने निहुँमा बाहिर निस्केको र त्यहीँबाट फरार भएको आइसोलेसनमा रहेकाहरुले बताएका छन् ।
दुई छोराछोरीलाई घर पुर्याएर ती युवक एक युवती भगाउन गाउँ पुगेको वडाध्यक्ष कठायतको भनाइ छ । श्रीमती अरुसँग पल्केको आरोप लागएर उनले छोडेका र नयाँ युवती भगाउन भारतबाट आएको अध्यक्ष कठायतले जानकारी दिए । उनी फरार भएको लामो समय बिते पनि कहीँ फेला नपरेको हुँदा आसपासका गाउँमा लुकेको हुन सक्ने र उनमा रहेको संक्रमण समूदाय स्तरमा फैलनसक्ने भएकाले खोजी गरिदिन वडाध्यक्ष कठायतले सबैमा अनुरोध गरेका छन् ।
सेरागदाडावासीको एकदुई दिनभित्रै कन्ट्रयाक्ट ट्रेसिङ गरिने मष्टा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भीम बोहराले बताए ।
प्रतिक्रिया