नेपाली बनेर भारतीयद्वारा दुई अर्ब ३९ करोडको राजश्व छली

नेपाली बनेर भारतीयद्वारा दुई अर्ब ३९ करोडको राजश्व छली


एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् ।

उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन् ।

उक्त घटनामा सोनी र मतियार अमित परियारसमेत विरुद्ध सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेकोे मैनालीले बताए । उनीहरू विरुद्ध दुई अर्ब ३९ करोड ५५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको मागदावी लिई सोमबार (२६ असोज) उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिएको छ ।

सोनीलाई विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटबलबाट खटिएको टोलीले असार ३० गते पक्राउ गरेको थियो । सउनले सुनचाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोवाइलको माध्यमबाट विभिन्न व्यक्तिसँग कारोबार गर्ने गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा उनले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रूपमा विक्री गर्ने र सो बाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिलाई भुक्तानी दिने गरेको पाइएको राजश्व अनुसन्धान विभागको भनाइ छ ।