अनैतिक सम्बन्धबारे खुलासा हुने त्रासले महिलाको हत्या, हत्याका तीन आरोपित पक्राउ

अनैतिक सम्बन्धबारे खुलासा हुने त्रासले महिलाको हत्या, हत्याका तीन आरोपित पक्राउ


सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती दाइमनदेवीको यही असोज १० गते हत्या भएको थियो । पक्राउ परेकामध्ये साहले ती महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बाँकी दुई जनाले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएका थिए । उनीहरुले पनि आफूले गरेको अपराध स्वीकार गरेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार मृतक महिलाकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकाशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ ।

अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको दुई बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रतिवादी बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा आठ वर्ष जेल सजाय भुक्तान गरी दुई वर्षअघि छुटेका थिए । साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको समेत देखिएको प्रहरीको भनाइ छ ।