दाङका विभिन्न कार्यालयका कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि ६ वटा सरकारी कार्यालय बन्द भएका छन् । यातायात व्यवस्था कार्यालयका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज ३० गतेसम्मका लागि कार्यालय सील गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, तलुसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकाको वडा नं. ६ को कार्यालय निश्चित दिनका लागि बन्द भएका हुन् । जिल्ला प्रशासन कार्यालयका एकजना कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएपछि ३० गतेसम्म बन्द भएको छ। त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुखलाई कोरोना संक्रमण भएपछि २० गतेदेखि बन्द कार्यालय मंगलबारदेखि खुल्दैछ । त्यसैगरी नापी कार्यालयका एकजना अमिनलाई संक्रमण भएपछि आइतबारदेखि कार्यालय बन्द गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित उनका स्वकीय सचिवलाई कोरोना भएपछि २२ गतेदेखि २९ गतेसम्म कार्यालय बन्द भएको जनाइएको छ। त्यसैगरी बबई गाउँपालिकाको वडा नं. ६ मा पनि नागरिकहरुमा कोरोना देखिएपछि वडा कार्यालय असोज २४ गतेदेखि असोज ३० गतेसम्म बन्द गरिएको छ।
दाङ देउखुरी जिल्ला अदालतमा साक्षी बकपत्र स्थगन गरिएको छ भने दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिनुभएको छ। कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिँदै गएको छ। सबै क्षेत्र खुला र भीडभाड हुँदा संक्रमण रोक्न निकै चुनौती देखिएको छ।
प्रतिक्रिया