दशैँ-तिहारमा पूजाअर्चना नरोक्न माग गर्दै प्रदर्शन

दशैँ-तिहारमा पूजाअर्चना नरोक्न माग गर्दै प्रदर्शन


नारद कोहार, कपिलवस्तु

कपिलवस्तु जिल्ला प्रशासन अगाडि नेपाल विश्व हिन्दु महासंघले विरोध प्रर्दशन गरेको छ । कोरोनाको बहाना बनाएर दशैँ तिहारमा पूजाअर्चना नरोक्न माग गर्दै महासंघका स्थानीय कार्यकताहरुले नारावाजीसहित विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शनकारीहरु ‘मिचिएको भुमि फिर्ता गर, चिनियाँ अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिश्चित गर, हिन्दु धर्म संस्कृतिमाथिको हस्तक्षेप बन्द गर, कोरोनाको बहानामा दशैँतिहारलाई निशाना बनाउन पाइँदैन’ लगायतका नारा लगाउँदै विरोधमा उत्रिएका थिए ।

सरकारले हिन्दुधर्म संस्कृतिमाथिको हस्तक्षेप रोकेन भने चरणबद्ध रुपमा आनदोलन गर्ने नेपाल विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष उदयभान यादवले बताए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुजा गर्ने र विर्सजन गर्ने बुँदा संशोधन नगरेमा बिहीबारदेखि कपिलवस्तु पूर्ण रुपमा बन्द गर्ने चेतावनी समेत उनले दिएका छन् ।

प्रर्दशनको क्रममा बोल्दै नेपाल विश्व हिन्दु महासंघ प्रदेश महासचिव निरन्जन यादवले दशैँ आउनुभन्दा एक महिनापहिले मुर्ति बनाउन शुरु गरिन्छ भन्ने जान्दाजान्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दशैंको संघारमै आएर सूचना जारी गर्नु दुर्नियत भएको आरोप लगाए । हिन्दु धर्ममाथि कुनै पनि किसिमको हस्तक्षेप स्विकार नहुने चेतावनी उनले दिए ।