सिर्जना तामाङसहितको टोली जुगल हिमशृङ्खला आरोहणका लागि प्रस्थान

सिर्जना तामाङसहितको टोली जुगल हिमशृङ्खला आरोहणका लागि प्रस्थान


पर्यटन उद्योगलाई चलायमान बनाउने उद्देश्यका साथ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङसहितको टोली जुगल हिमाल आरोहणका लागि प्रस्थान गरेको छ ।

जुगल–२ स्थित सो हिमाल आरोहणका लागि सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोली राजधानी काठमाडौंंबाट जुगल गाउँपालिकाको गुम्बामा पुगेको छ । राजधानीबाट १४५ किलोमिटरका दूरीमा रहेको जुगल हिमशृङ्खलाको ग्याल्जेन पिक आरोहण दोस्रो पटक हुने भएको हो ।

६,१५१ मिटर उचाइमा रहेको राजधानीबाट नजिकको उत्कृष्ट गन्तव्यको सूचीमा रहेको हिमशृङ्खलामा गत वर्ष चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण गरेसंँगै यसले थप सम्भावनालाई उजागर गरेको छ ।

जुगल–३ को उत्तरी भेगमा रहेको शृङ्खलाका ११ चुचुरामा आरोहणका लागि अनुमति प्राप्त छ । तीन हजार पाँच सय मिटरको उचाइमा रहेको नेपेमाशालको मनोरम दृश्य फराकिलो मैदान, नजीकै ब्रह्मायणी नदी, जङ्गल मार्गमा तोङ्श्युक (हजार जना अट्ने) गुफा जुगल आरोहणको पर्यटकीय विशेषता रहेको जुगल गाउँपालिकाले जनाएको छ ।

हिमाल आरोहणका लागि सैद्धान्तिक, प्रयोगात्मक अध्ययन तथा अग्ला हिमाल आरोहणका लागि छोटो अवधिको तालिम तथा अभ्यास जरुरी भएकाले आरोहण शुरु गरिएको गाउँपालिका उपाध्यक्ष तामाङले जानकारी दिइन् ।

कोरोना महामारी नियन्त्रण भएपछिका दिनमा पर्यटन उद्योगलाई थप चलायमान बनाउनका लागि पनि तयारीस्वरुप यो आरोहण कार्यक्रम तय भएको जानकारी दिँदै उपाध्यक्ष तामाङले मौसम अनुकूल भएको खण्डमा एक सातामा आरोहण सकेर आधार शिविर फर्कने तयारी रहेको बताइन् ।

सगरमाथा आरोही लामाका नेतृत्वमा रहेको आरोहण दलमा पासाङकाजी शेर्पा, पेम्बा तामाङ, आङ्दोर्जी शेर्पा, आङ्छिरिङ शेर्पा, सार्की शेर्पासहित ६ जना रहेको जनाइएको छ । यस पटकको आरोहणलगत्तै माउन्टेनेरिङ कलेजको सम्भाव्यता अध्ययनका लागि प्राविधिक र विज्ञ टोलीले पुनः त्यसतर्फ प्रस्थान गर्ने गाउँपालिकाले जनाएको छ । राससका अनुसार गाउँपालिकाको आयोजना, सिन्धु पर्यटन परिषद्को सहजीकरण र सोल हिमालयन कम्पनीको व्यवस्थापनमा आरोहण शुरु भएको हो ।