नसोचिएको काम देखाए प्रधानन्यायाधीश राणाले !

नसोचिएको काम देखाए प्रधानन्यायाधीश राणाले !

एक हजार रोपनीभन्दा बढी जमिन अदालती निर्णयबाट सरकारको स्वामित्वमा


प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेयता चोलेन्द्र शमशेर राणाले विभिन्न व्यक्तिले ‘प्रक्रिया मिलाएर’ कब्जा गर्न खोजेका एक हजार रोपनीभन्दा बढी जमिन अदालती निर्णयबाट सरकारको स्वामित्वमा ल्याएको पाइएको छ ।

राणाले आफू प्रधानन्यायाधीश भएपछि सरकारी जमिन हडप्न भएका प्रयासप्रति विशेष निगरानी राख्दै आउनुभएको र, त्यस्ता मुद्दाहरूको निर्णय प्रायः आफैं सहभागी भएर गर्दै आउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नं. ८ बागमति किनारको १२३ रोपनी जमिन केही व्यक्तिहरूले आफ्नो नाममा ल्याउन गरेको प्रयासलाई राणाले २०७४ भाद्र ५ गते एक फैसला गरी असफल तुल्याइदिनुभएको थियो ।

कानूनविपरीत व्यक्तिको नाममा दर्ता गरिएको उक्त जमिन राणा र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले शिवालय गुठीको नाममा रहने फैसला सुनाएको थियो । त्यसैगरी कागेश्वरी मनहरा नगरपालिकाको २५ रोपनी १५ आना जमिन व्यक्तिको नाममा पु¥याइएकोमा २०४७ असार ३० गते चोलेन्द्र शमशेर राणा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले दर्ता बदर गरी गुठी संस्थानको नाममा रहने निर्णय सुनाएको थियो । बारा जिल्ला तत्कालिक भोडाहा गाविसमा रहेको २२ बिघा १५ धुर जग्गा व्यक्तिले हडप्न गरेकोमा दर्ता बदर गराइ उक्त जग्गा सरकारको नाममा ल्याउने कार्य चोलेन्द्रशमशेर राणा र डम्बर शाहीको संयुक्त इजलासबाट २०७४ चैत १८ गते भएको थियो ।

त्यस्तै काठमाडौंको तत्कालिक खड्का भद्रकाली गाविसस्थित ५२ रोपनी सात आना जमिन केही व्यक्तिले कानूनविपरीत दर्ता गरेकोमा चोलेन्द्र शमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले २०७५ माघ २९ गते फैसला गरी नेपाल सरकारको नाममा कायम गराएको थियो । काभ्रे पलाञ्चोकस्थित तत्कालिक महादेवस्थान गाविस वडा नं. ९ मा रहेको ५७९ रोपनी ११ आना जमिन व्यक्तिको गैरकानूनी कब्जाबाट मुक्त गराइ नेपाल सरकारका नाममा ल्याउने कार्य पनि चोलेन्द्र शमशेर र बमकुमार श्रेष्ठको संयुक्त इजलासबाट २०७६ कात्तिक ७ गते भएको थियो ।

सरकारी जमिन गैरकानूनी रूपले कब्जा गर्ने कार्यका विरुद्ध प्रधानन्यायाधीश राणा दृढतापूर्वक उभिनुभएको देखिन्छ । त्यसैले यसप्रकारका मुद्दाहरू प्रायः आफैं सहभागी भएर उहाँले निर्णय सुनाउने गर्नुभएको छ ।

एनसेल राजश्व प्रकरणमा पनि राणाले गरेको फैसलाका कारण नेपाल सरकार अर्बौं रूपैयाँ लाभ हासिल गर्न सफल भएको छ ।

सरकारलाई क्षति पुऱ्याउने प्रकारका कुनै पनि मुद्दाप्रति राणाको व्यवहार कठोर रहँदै आएको छ । शङ्कर अक्सिजन ग्यास प्रा.लि. भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स प्रा.लि., एआइटी प्रा.लि. र अरुण इण्टरकण्टिनेण्टल ट्रेडर्स समेतबाट नक्कली भ्याट बिल छापेर कारोबार भएकोमा सो बापत एक अर्ब २२ करोड रकम सरकारलाई तिराउने कार्य पनि राणाबाट नै भएको हो ।

कुनै मुद्दामा न्यायाधीशहरूको सन्देहास्पद भूमिका देखिएमा न्यायाधीशहरूलाई समेत छानवीन र कारबाहीको दायरामा ल्याउने कार्य प्रधानन्यायाधीश राणाबाट हुँदै आएको छ । न्यायापालिकाप्रतिको विश्वास र भरोसा बढाउन राणाले विशेष तदारुकता देखाएकै कारणले हुन सक्छ, बितेका ६ महिनायता न्यायपरिषद्मा एउटै उजुरी परेको छैन ।