घाँसी संवाद पार्कमा स्थापित सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

घाँसी संवाद पार्कमा स्थापित सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ


लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु-घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुऱ्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका-७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो ।

निजलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुईपिप्ले स्थित रिस्ती नदी दोभानमा बनाइएको ‘भानु-घाँसी पार्क’ र त्यसमा निर्माण गरिएको आदिकवि भानुभक्त र उहाँका प्रेरणा स्रोत मानिएका घाँसीको शालिक तोडफोड भएको थियो । तोडफोडबाट पार्कमा रहेको घाँसी अर्थात खड्कबहादुरको शालिकको घाँटी छिनाइएको र आदिकवि भानुभक्तको शालिकको हात भाँचिएको छ ।