पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखी महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए ।
त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए ।
महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ ।
दुई सङ्क्रमितको मृत्यु
उता, कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए ।
यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रले जनाएको छ । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी रहेका बताइउको छ ।
प्रतिक्रिया