युरोपका विभिन्न देशमा कोरोना संक्रमण तीव्र रूपले बढ्दै

युरोपका विभिन्न देशमा कोरोना संक्रमण तीव्र रूपले बढ्दै



संक्रमण बढ्न नदिन विभिन्न मुलुकद्वारा नयाँ-नयाँ नियम जारी

सनत आचार्य (बेल्जियम)

सनत आचार्य

पछिल्लो दुई सातायता बेलायतलगायत युरोपका विभिन्न देशमा कोरोना संक्रमण डरलाग्दो रूपले बढ्न थालेको छ । संक्रमण बढेसँगै युरोपियन मुलुकहरूले आ-आफ्नै रुपले कडा कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याउन थालेका छन् ।

कतिपय नागरिकहरू पछिल्लो पटकको यो संक्रमण देखेर भयभित र अचम्मित बनेको पाइएको छ भने विज्ञ र विभिन्न देशका सरकारको कोरोना संक्रमणको दोश्रो चरण भनी टिप्पणी गरेका छन् ।

पछिल्लो दुई सातायता बेलायतलगायत युरोपका विभिन्न देशमा कोरोना संक्रमण डरलाग्दो रूपले बढ्न थालेको छ । संक्रमण बढेसँगै युरोपियन मुलुकहरूले आ-आफ्नै रुपले कडा कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याउन थालेका छन् ।

अक्टोबर १५ सम्म बेलायत र युरोपमा गरी ४४ लाख १७ हजार २ सय ३९ जना कोरोनाबाट संक्रमित भइसकेका तथ्याङ्क छ । यसमध्ये स्पेनमा ९ लाख ८ हजार ५६, फ्रान्समा ७ लाख ८९ हजार त्रिसठ्ठी, बेलायतमा ६ लाख ५४ हजार ६ सय ४४ इटाली ३ लाख ७२ हजार ७ सय ९९, जर्मनी ३ लाख ४१ हजार २ सय २३, नेदरल्याण्ड १ लाख ९५ हजार ९ सय ३३ र बेल्जियममा १ लाख ८१ हजार ४ सय १८ संक्रमित रहेका छन् । यी बाहेकका अन्य देशमा पनि वृद्धिदर उच्च रहेको छ भने युरोप र बेलायतमा कुल १ लाख ९८ हजार ४ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा बेलायतमा ४३,१५५ उच्च सङ्ख्या छ । युरोपियनमध्ये कोरोनाका कारण सबैभन्दा बढि मृत्युहुने देश इटाली हो । यहाँ ३६,२८९, स्पेन ३३,४१३ मानिस कोरोना संक्रमणका कारण मृत्युको मुखमा पुगेका छन् भने अन्य देशमा फ्रान्समा ३३,०३७ र बेल्जियममा १०,२७८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै जर्मनीमा ७,९१०, निदरल्याण्ड ६,६५४ र स्वेडेनमा ५,९०७ जनाको मृत्यु भएको छ ।

पछिल्लो चरणमा यसरी कोरोना संक्रमण भयावह रुपमा पुनः देखापरेपछि युरोपका विभिन्न देशहरूले मानिसको भेलालाई कम गर्नेतर्फ लागेको छन् । पछिल्लो चरणमा युरोपमा मास्कको अनिवार्य प्रयोग र भौतिक दूरीको पालनामा जोड दिएको पाइन्छ । नेपालमा झैँ यहाँ कुनै पनि कार्यालय वा स्थानमा ज्वरो नाप्ने काम गरिँदैन ।

फ्रान्समा गत २ दिनमा ५२ हजार भन्दा बढि मानिसमा कोरोना संक्रमण देखिएपछि फ्रान्स सरकारले पेरिस लगायत देशका अन्य आठ शहरमा रात्रीकालीन कर्फ्यू लगाएको छ । निषेधित समयमा अत्यावश्यक काम बाहेक हिँड्न घुम्न प्रतिबन्ध लगाइएको छ । कर्फ्यू राती ९ बजेदेखि विहान ६ बजेसम्म रहने जनाइएको छ ।

नियमअनुसार निजी घरहरूमा ६ जनाभन्दा बढि मानिस भेला हुन पाउने छैनन् । विवाह, भोजलगायतका सबै प्रकारको भेटघाटलाई पनि फ्रान्स सरकारले निषेध गरेको छ ।

पेरिसआसपासका क्षेत्रमा ११ वर्ष भन्दामाथिका मानिसलाई मास्क अनिवार्य गरिएको छ ।

इटालीमा घरबाहिर मास्कको प्रयोग अनिवार्य गरिएको छ भने निजी घरबाहेकका सबै स्थानमा मास्क अनिवार्य छ । ६ वर्षभन्दा माथिका विद्यार्थीलाई विद्यालय हाताभित्र मास्कको प्रयोग गर्नुपर्ने नियम जारी गरिएको छ ।

मानिसहरूलाई रातिको ९ बजे देखि बिहान ६ बजेसम्म बार तथा रेष्टुरेण्टमा बस्न निषेध गरिएको छ । विवाह तथा अन्य रिसेप्सनबाहेक घरभित्र र बाहिर गरिने सबै पार्टीहरूलाई निषेध गरिएको छ । विवाह तथा अन्य रिसेप्सनमा ३० जना भन्दा बढि मानिसहरू भेला हुन पाउने छैनन् ।

स्पेनको राजधानी मेड्रिडमा गत अक्टोबर ७ देखि संकटकाल घोषणा गरिएको छ । काम र विद्यालय प्रयोजनबाहेक अन्य अवस्थामा मेड्रिड जान–आउन निषेध गरिएको छ । भिन्न–भिन्न क्षेत्रमा बसोबास गर्ने मानिसबीच भेटघाट निषेध छ । होटल तथा रेष्टुरेण्टमा राति ११ बजेसम्मका लागि ५० प्रतिशत मात्र मानिसहरूलाई प्रवेश दिइएको छ ।

जर्मनीमा पनि ठूलो संख्यामा बसेर चाडबाड मनाउने, खेलहरू खेल्ने र भेटघाट गर्ने कार्यलाई निषेध गरिएको छ । उच्च जोखिममा रहेका देशहरूबाट जर्मनी आउने जो–कोहीलाई एयरपोर्टमा कोरोना परीक्षण गरिने गरिएको छ । ३० सेप्टेम्बरदेखि ती देशहरूबाट आउने यात्रुलाई १४ दिन घरमै अनिवार्य आइसोलेशनमा बस्ने नियम बनाइएको छ ।

सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । यदि मास्कको प्रयोग नगरेको पाइएमा ४६ देखि ५० युरो जरिवाना तिर्नुपर्ने कानून रहेको छ ।

नेदरल्याण्डमा १४ अक्टोबरदेखि रेष्टुरेण्ट, बार तथा कफी पसलबाट खानेकुरा लैजान मात्र पाइने कानुन बनाइएको छ । आठ बजेपछि मदिरा बेच्न निषेध गरिएको छ । आम नागरिकहरूलाई घरमै बस्न र कामबाट घर जान सुझाइएको छ । एक दिनमा तीन जनालाई घरभित्र र चार जनालाई मात्र बाहिर भेट्न पाउने नियम बनाइएको छ । तर १३ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई यो नियम लागु हुने छैन ।

डेनमार्क युरोपका अन्य मुलुकभन्दा पहिले विद्यालय संचालन गर्ने पहिलो देश हो । डेनमार्कमा गत अप्रिल महिनाबाट विद्यालयहरू संचालनमा ल्याइएको थियो । सरकारले सार्वजनिक सवारीका साधनहरूमा मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ । राजधानी कोपनहेगन र यसका आसपास क्षेत्रहरूमा १० बजेपछि रेष्टुरेष्ट र बारहरू बन्द गरिएका छन् । विवाह पार्टी, भोजहरू राती १० बजेसम्म मात्र गर्न सकिने र मास्क अनिवार्य गरिएको छ ।

यही अक्टुबर १ तारिखदेखि बेल्जियमको राजधानी ब्रसेल्समा सार्वजनिक क्षेत्रमा लामो समयसम्म मास्कको प्रयोग अनिवार्य गरिएको थिएन । तर मुख अनिवार्य छोप्नुपर्ने र डेढ मिटरको फरकमा बस्नुपर्ने गरिएको छ । यहाँ पनि बार तथा रेष्टुरेण्टहरू ११ बजेसम्मका लागि मात्र खुल्ला गरिएको छ भने खाना तथा अन्य सामग्री १० बजेसम्म बेच्न पाइन्छ । बजार र सडकमा खान प्रतिबन्ध लगाइएको छ । बार तथा रेष्टुरेण्टमा प्रवेश गर्दा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।

रेष्टुरेण्टमा खादा मास्क खाल्न परेतापनि बाहिर निस्कँदा पुनः मास्कको प्रयोग गर्न अनिवार्य छ । ग्राहकहरूलाई सकेसम्म नगद कारोबार नगर्न सुझाइएको छ । एउटा टेबुलमा चार जना मात्र बस्न अनुमति दिइएको छ ।

रात्री क्लब र कुनै पनि प्रकारको चाडपर्व सामुहिक रूपले मनाउन प्रतिबन्धित गरिएको छ ।

बेलायतमा शनिबारदेखि राजधानी र लगायत अन्य क्षेत्रहरूमा कोरोना संक्रमणको अत्यधिक जोखिम रहेको भन्दै भित्र गरिने सम्पूर्ण भेटघाट तथा सामाजिक कार्यहरूमा पूर्ण रुपले बन्देज लगाउने भएको छ ।

विश्व स्वाथ्य संगठनले ‘मानिसको जीवन बचाउन प्रतिबन्ध एकदमै आवश्यक भएको’ बताएको छ । करोडौँ युरोपवासीहरूले नयाँ जीवन जिउनका लागि सरकारले दोश्रो चरणको संक्रमणलाई कडाइका साथ लैजान बताएका छन् ।