मध्यपूर्वका नेपालीसामु कुल आचार्यले राखे ‘एक एनआरएन एक रोजगार’को प्रस्ताव

मध्यपूर्वका नेपालीसामु कुल आचार्यले राखे ‘एक एनआरएन एक रोजगार’को प्रस्ताव


लन्डन

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले कोभिड–१९ का कारण रोजगार गुमाएर नेपाल फर्केका नेपालीहरुलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न ‘एक एनआरएन एक रोजगार’को प्रस्ताव राखेका छन् ।

‘लाखौँ नेपालीहरु खाडीलगायतका मुलुकबाट स्वदेश फर्किरहनुभएको छ । उहाँहरुलाई नेपालमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती छ । त्यसका लागि एनआरएनएले पनि पहल गरोस् भन्ने मेरो चाहना हो’, आचार्यले भनेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौँ मध्यपूर्व क्षेत्रीय भेलाको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै आचार्यले गैरआवासीय नेपालीहरुसँग रहेको सीप, श्रोत र पूँजी सामूहिक लगानीको माध्यमबाट नेपालको विकासमा लगाउने वातावरण बनाउन नेपाल सरकारलाई आह्वान गरे।

‘महँगो चार्टर्ड उडानमा टिकट काटेर दशौँ हजार नेपालीहरु घर फर्कनु भएको छ, तर अझै पनि हजारौं नेपालीहरु स्वदेश फर्कन पर्खिरहनुभएको छ। मैले सार्वजनिक रुपमै सम्माननीय प्रधानमंत्रीज्यूलाई अलपत्र परेका दाजुभाइ–दिदीबहिनीहरुलाई निःशुल्क उडानको व्यवस्था मिलाइदिनोस् भन्दै सार्वजनिक रुपमै अनुरोध पनि गरेँ । तर अहिले कोभिड–१९ फैलिएको सात–आठ महिनापछि पनि कैयौँ नेपालीहरु विदेशी भूमिमा अलपत्र पर्नु दुःखको विषय हो । म फेरि यही मन्चबाट जतिसक्दो चाँडो दशैं, तिहार, छठ जस्ता नेपालीहरुका प्रमुख चाडअगावै स्वदेश फिर्तीको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु’, एनआरएनएका पूर्व केन्द्रिय उपाध्यक्षसमेत रहेका आचार्यले भने ।

‘अहिले फ्री मेम्बरसीप, अनलाइन भोटिङ जस्ता प्रस्तावहरु पनि अगाडि सारिएका छन् । संगठनलाई मजबुत बनाउने किसिमले, एनसीसीहरुलाई बलियो बनाउने किसिमले, सबै नेपालीहरु अटाउने एनआरएन बनाउने हिसाबले यी प्रस्तावहरुको बारेमा खुला छलफल गर्न म आग्रह गर्दछु’, आचार्यले भने।

सम्मेलनलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले युरोप, अमेरिकामा रहेका एनआरएनहरुलाई नेपाल फर्केका नेपालीहरुलाई रोजगारी सिर्जना गर्नमा सघाउन आग्रह गरे भने अर्का पूर्वअध्यक्ष देवमान हिराचनले नेपाललाई अर्ग्यानिक देश बनाउने अभियानअन्तर्गत अहिलेसम्म आफ्नो कम्पनीले २८ हजार नेपालीहरुलाई तालिम दिइसकेको जानकारी दिए ।

यसैगरी, अर्का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले एनआरएनए एउटा सामाजिक संस्था भएकाले यसलाई चुनाव भन्दा रोटरी जस्तो नेतृत्व चुन्ने प्रणालीमा जाने बारे छलफल गर्न प्रस्ताब गरे। संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले श्रमिकहरुको सम्मान हुन सकेमा मात्रै देशको समृद्धि हुन सक्ने बताए ।