पहिलो विदेश भ्रमणमा निस्कँदै जापानी प्रधानमन्त्री सुगा

पहिलो विदेश भ्रमणमा निस्कँदै जापानी प्रधानमन्त्री सुगा



विश्व राजनीतिक वृत्तमा चासोको विषय बन्दै जापानी परिवेश


विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानी प्रधानमन्त्री योशिहिदे सुगा आइतबार आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणमा जानेभएका छन् । उनी आइतबार भियतनाम र इन्डोनेशियाको चार दिवसीय भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा सुगा भियतनामको हानोई जानेछन् र त्यहाँ भियतनामी प्रधानमन्त्री गुयन सुआन फुकसँग भेटवार्ता गर्ने छन् । त्यसपछि उनी इन्डोनेशियाको जाकर्तातर्फ लाग्नेछन्न्, त्यहाँ उनको भेट राष्ट्रपति जोको विडोडोसँग हुने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेसँगै विश्वभरभरका राजनितिक तथा कुटनितिक प्रमुखहरुसँग दिनहुँजसो विभिन्न कन्फ्रेन्सहरुमा ब्यस्त प्रधानमन्त्री सुगा निवर्तमान प्रधानमन्त्री सिन्जो आवेको विँडो थाम्न भरमग्दुर प्रयासमा छन् । यसपटकको विदेश भ्रमणको क्रममा पनि उनले स्वतन्त्र र खुला इण्डो प्रशान्त बारेमा छलफल गर्ने बताइएको छ । यस विषयमा यही अक्टोबर ६ तारिख टोकियोमा अमेरिका, अस्ट्रेलिया, जापान तथा भारतीय विदेशमन्त्रीस्तरीय भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री सुगाका यो पहिलो भ्रमणलाई बेइजिङसँगको सम्बन्धलाई जोडेर पनि व्याख्या र विश्लेषण हुन थालेका छन् । यद्यपि सरकारी अधिकारीहरुले यो भ्रमण चीनसँगको सम्बन्धमा नकारात्मक असर पार्ने खालको नभएकोमा जोड दिएका छन् ।

तथापि, एकातिर मुख्य सुरक्षा राष्ट्र अमेरिका अर्कोतिर विश्वको दोश्रो ठूलो आर्थिक शक्ति मुलुक चीनबीचको भुराजनैतिक सम्बन्धलाई तादात्म्यता राख्दै अगाडि बढ्नुपर्ने जापानको वर्तमान परिवेश विश्व राजनीतिक वृत्तमा निकै चासोको विषय बन्दै आएको छ ।

सरकारी स्रोतले जनाएअनुसार, यस भ्रमणको क्रममा भियतनामसँग प्रतिरक्षा उपकरण र प्रविधि स्थानान्तरणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ भने इन्डोनेशियासँग त्यस्तो कुनै विशेष सम्झौता नभई वर्तमान कोरना भाइरस प्रकोपविरुद्ध लड्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।