चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । क्यान्सर रोगबाटसमेत पीडित रहेका पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार वडाध्यक्ष पाण्डेमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहँदै आएका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।
खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको बताइएको छ । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो ।
दिवंगत पाण्डे गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी हुनु भएका थिए । नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।
ज्ञातव्य छ, यसअघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडाअध्यक्षको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया