तीन हजार १६७ संक्रमित थपिए, नेपालभर संक्रमितको कूल संख्या १,२९,३०४

तीन हजार १६७ संक्रमित थपिए, नेपालभर संक्रमितको कूल संख्या १,२९,३०४



काठमाडौं उपत्यकामा १,७४६ जनासहित देशभर शनिबार (१ कात्तिक) ३,१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १,४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १,२९,३०४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५,४३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो भने हालसम्म १२,६९,६०५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २५,३४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २९९ सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेका जानकारी दिए । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७३७ पुगेको र सङ्क्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९,८४० पुगेको छ, जुन कूल सङ्क्रमितको ६९.४ प्रतिशत हो ।

मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौंमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७२७ पुगेको छ ।

यसैक्रममा कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको शनिबार होम आइशोलेसनमै ज्यान गएको छ ।

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिएअनुसार गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।