पशुपति क्षेत्र विकास कोषको मातहत रहेको गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्र्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएका छन् ।
कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुह्येश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो । कोषका तर्फबाट घटस्थापनाको बिहान पूजा गर्न गएका पुजारीलगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डङ्गोलले पूजा गर्न नदिएको कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताएका छन् ।
गुह्येश्वरी मन्दिर क्षेत्रमा रहेका सुनको परिमाणबारे व्यवस्थापन समितिलाई स्पष्टीकरण सोधिएकाले पूजा गर्न नदिइएको आरोप कोषाध्यक्ष थापाले लगाएका छन् ।
समितिले चित्तबुझ्दो उत्तर नदिएकाले थप छानबिन गर्ने तयारी गरिएको कोषले जनाएको छ । समितिले भने मन्दिरमा पञ्चामृत, अण्डा र जाँडरक्सी चढाउँदा सुन खिइएको जिकिर गर्दै यससम्बन्धी स्पष्टीकरण कोषलाई बुझाइसकिएको जिकिर गरेको छ ।
गुह्येश्वरीक्षेत्र र चाबहिलक्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन् । यसकारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ ।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रका सबै मठमन्दिर कोषमातहत नै ल्याउने तयारी भएको बताएका छन् ।
प्रतिक्रिया