पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री सुगा

पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री सुगा



विशेष प्रतिनिधि, टोकियो (जापान)


जापानी प्रधानमन्त्री योशिहिदे सुगा आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणमा निस्किएका छन् । सुगा आइतबार दिउँसो भियतनाम र इन्डोनेशियाको यात्रामा निस्किएका हुन् ।

भ्रमणका क्रममा सुगा भियतनामको हानोई जानेछन् र त्यहाँ भियतनामी प्रधानमन्त्री गुयन सुआन फुकसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सुगा इन्डोनेशियाको जाकर्तातर्फ लाग्नेछन्न् र त्यहाँ उनको भेट राष्ट्रपति जोको विडोडोसँग तय गरिएको छ ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेसँगै विश्वभरभरका राजनितिक तथा कुटनीतिक प्रमुखहरुसँग दिनहुँ जसो विभिन्न कन्फ्रेन्सहरुमा व्यस्थ सुगा निवर्तमान प्रधानमन्त्री सिन्जो आवेको विँडो थाम्न भरमग्दुर प्रयासमा छन् ।

यस पटकको विदेश भ्रमणको क्रममा पनि उनले स्वतन्त्र र खुला इण्डो प्रशान्त बारेमा छलफल गर्नेछन् । जुन विषयमा यही अक्टोबर ६ तारिख टोकियोमा अमेरिका, अस्ट्रेलिया, जापान तथा भारतीय विदेश मन्त्रीस्तरीय भेटवार्ता भएको थियो । यो उनको यो पहिलो भ्रमणलाई बेईजिङसँगको सम्बन्धहरुलाई जोडेर पनि व्याख्या र विश्लेषण हुन थालेका छन् । यद्यपि सरकारी अधिकारीहरुले यो भ्रमण चीनसँगको सम्बन्धमा नकारात्मक असर पार्ने खालको नभएकोमा जोड दिएका छन् ।

यद्यपि, एकातिर मुख्य सुरक्षा राष्ट्र अमेरिका अर्कोतिर विश्वको दोश्रो ठूलो आर्थिक शक्ति मुलुक चीनबीचको भूराजनैतिक सम्बन्धलाई तादात्म्यता राख्दै अगाडि बढ्नु पर्ने जापानको वर्तमान परिवेश विश्व राजनितीक वृत्तमा बढो चासोको विषय बन्दै आएको छ ।

सरकारी स्रोतले जनाएअनुसार, यस भ्रमणको क्रममा भियतनामसँग प्रतिरक्षा उपकरण र प्रविधि स्थानान्तरणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनसक्ने सम्भावना छ भने इन्डोनेशियासँग त्यस्तो कुनै विशेष सम्झौता नभई वर्तमान कोरना भाइरस प्रकोप विरुद्ध लड्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।