फेरि बल्झिँदै द्वन्द्व मङ्सिरदेखि महासङ्ग्राम !

फेरि बल्झिँदै द्वन्द्व मङ्सिरदेखि महासङ्ग्राम !



‘मल्ल युद्ध’ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई परास्त गर्न नसकिने देखिएपछि ‘माओवादी’ नेता प्रचण्ड ‘छलयुद्ध’ गरी केपीलाई सिध्याउने रणनीतिक चालमा लाग्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

विगत एक वर्षभन्दा अगाडिदेखि नै केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदीय जिम्मेवारीबाट मुक्त गर्ने प्रयास गर्दै आउनुभएका प्रचण्ड आफूले कार्यकारी अध्यक्षको सक्रिय भूमिका निर्वाह गर्न पाउने र, सरकारले लिने महत्वपूर्ण निर्णय तथा राजनीतिक नियुक्तिहरू पार्टीको सिफारिसमा हुने सहमति गरेर केपीविरुद्ध लडाइँ स्थगित गर्ने निष्कर्षमा दुई महिनाअगावै पुग्नुभएको थियो ।

आफूलाई क्षति पु¥याउने कुनै कार्य नहोस् र ‘जे मिल्छ त्यति नै लिएर’ भए पनि आफ्नो सम्मान र सुरक्षाको रक्षा गर्दै जाने उद्देश्यका साथ प्रचण्डले त्यसबेला केपीसँग सहमति बनाएर अघि बढ्ने निर्णय लिनुभएको थियो । पार्टीको आगामी महाधिवेशनबाट केपीकै समर्थनमा एकल अध्यक्ष बन्ने–बनाइने कुराले पनि प्रचण्ड प्रभावित हुनुभएको थियो । एकतिर केपीले कतै दुःखद् परिस्थिति निम्त्याइदिने हो कि भन्ने भय र अर्कोतिर एकल अध्यक्ष बनाइने प्रलोभनमा परेर प्रचण्ड केपीका अघिल्तिर नतमस्तक बन्न पुग्नुभएको थियो ।

स्थायी समितिको बैठकबाट सरकार पार्टीको निर्णयअनुसार सञ्चालन हुने र कार्यकारी अध्यक्षले कार्यकारी भूमिका निर्वाह गर्ने ‘सहमतिको अनुमोदन’ गरिदिएपछि प्रचण्ड अलिक ढुक्क हुनुभएको थियो । भय र प्रलोभनको चपेटमा परेकै कारण युवराज खतिवडालाई मन्त्रीसरहको सल्लाहकार तथा अमेरिकाका लागि राजदूत बनाउने निर्णय लिइँदा पनि प्रचण्डले खुलेर प्रतिवाद गर्न सक्नुभएन ।

तर मन्त्रिमण्डलको पुनर्गठन विषयमा भने प्रचण्ड आफ्नो अडानमा दृढ रहनुभयो । उहाँ आफ्नी बुहारी बिना र वर्षमान पुनलाई मन्त्रिमण्डलमा यथावत राखिनुपर्छ भनेर मात्र अड्नुभएन, लेखराज भट्ट, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई कुनै हालतमा मन्त्री बनाइन नहुने भनेर पनि अडान लिइरहनुभएको छ । प्रचण्डकै अडानका कारण केपी ओलीले मन्त्रिमण्डलमा ब्यापक फेरबदल गर्न पाउनुभएन ।

यदि केपी मन्त्रिमण्डल पुनगर्ठन गर्न स्वतन्त्र हुनुभएको भए वर्तमान मन्त्रिमण्डलमा यतिबेला वर्षमान पुन, बिना मगर, रामेश्वर राय यादव, जगतबहादुर विश्वकर्मा, पद्मा अर्याल, गिरिराजमणि पोखरेल, भानुभक्त ढकाल, शक्ति बस्नेत, पार्वत गुरुङ र घनश्याम भुसालहरू नरहने निश्चितप्रायः थियो भने मन्त्रिमण्डलमा प्रेम आले, गणेश ठगुन्ना, टोपबहादुर रायमाझी, पम्फा भुसाल, प्रभु साह, हरिबोल गजुरेल, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका व्यक्तिहरूले प्रवेश पाउने निश्चित थियो । दुई नेताबीच कुरा नमिलेपछि पुनर्गठन केही पर सरेको छ । अब दशैँपछि मात्र ब्यापक हेरफेरको सम्भावना छ ।

प्रचण्डले भित्रभित्रै केपीलाई विस्थापित गर्न तयारी गरेपछि प्रतिरक्षाका निम्ति केपीबाट पनि आफ्नो तयारी शुरु भइसकेको बुझिन्छ । पार्टीलाई विभाजन हुनबाट जोगाउन सक्ने नेताहरू माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ समेत एउटा कित्तामा उभिए भने नेकपालाई विभाजन हुनबाट जोगाउन साक्षात् लेनिन नै प्रकट भए पनि असम्भव हुने देखिएको छ ।

प्रचण्ड केपी शर्मा ओलीको सोच र शैली नबदलिएकोमा पछिल्लो समय चिन्तित र सशङ्कित बन्नुभएको छ । आफूलाई एकल अध्यक्ष बन्न पनि केपीबाट सहयोग नहुने ठहर प्रचण्डबाट भएको बुझिन्छ । त्यसैले पहिलेझैँ सिधा लडाइँ नगरी अप्रत्यक्ष तयारी गरेर केपीलाई प्रधानमन्त्री पदबाट हटाइदिने रणनीतिक चाल प्रचण्डले शुरु गर्नुभएको छ । उहाँले पुनः माधव नेपालसँगको सहकार्य तथा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमसहितको मोर्चाबन्दीलाई ‘कार्य परिणाममुखी’ बनाउने सोचका साथ कार्ययोजना अघिबढाउनु भएको बुझिएको छ ।

आफ्नो योजना कार्यान्वयनका निम्ति तिहारपश्चात सक्रिय हुने पनि सम्बद्ध सूत्रहरूबाट थाहा भएको छ । पार्टीमा सहमति बनेको प्रचार गाउँ–गाउँसम्म पुग्न नपाउँदै कर्णाली प्रदेशको मूख्यमन्त्री बदल्न अचानक अविश्वास प्रस्ताव दर्ता गरिएपछि प्रचण्ड ज्यादा गम्भीर बन्नुभएको र, भित्रभित्रै ओलीको विस्थापन निम्ति सक्रिय हुने निचोडमा पुग्नुभएको बताइन्छ ।

यसरी ओलीलाई पदमुक्त गर्नैपर्ने निष्कर्षमा पुगेपछि पनि गत आइतबार प्रचण्डले बालुवाटारमा केपीसँग झण्डै तीनघण्टा छलफल गरेर बिताउनुभएको थियो । उक्त छलफलका क्रममा कर्णाली प्रदेश अविश्वास प्रकरणदेखि मन्त्रिमण्डल पुनर्गठन र महाधिवेशनका विषयमा समेत ब्यापक बहस भएको बताइएको छ । तर तीनघण्टाको छलफलले पनि दूरगामी महत्वको ठोस कुनै निचोड निकाल्न सकेन । दुवै नेताले एकअर्काको मनस्थिति र रणनीतिक तयारी बुझ्ने प्रयासमै तीन घण्टा लामो समय बिताएको बुझिन्छ ।

प्रचण्ड र केपी एकअर्कालाई ‘झुक्याएर लडाउने’ रणनीतिक चालबाजीमा भएकोले तिहारपछि दुई नेताबीचको द्वन्द्व छताछुल्ल हुने सम्भावना छ । जब केपीले मन्त्रिमण्डलमा स्वतन्त्र ढङ्गले ब्यापक परिवर्तन गर्नुहुनेछ, त्यसपछि प्रचण्ड र केपीबीचको लडाइँ उत्कर्षमा पुग्ने र असोचनीय एवम् अकल्पनीय अवस्थामा पुगेर मात्र उहाँहरूबीचको द्वन्द्व बिसर्जन हुने सङ्केतहरू घटना र विचारले फेला पारेको छ । आन्तरिक परिस्थिति यसैगरी अघि बढ्यो र कुनै अप्रत्याशित कारणले स्थिति परिवर्तन भएन भने आगामी मङ्सिरदेखि महाधिवेशनसम्ममा नेकपा एकबाट दुई बन्न सक्ने प्रबल सम्भावना छ ।

प्रचण्डले भित्रभित्रै केपीलाई विस्थापित गर्न तयारी गरेपछि प्रतिरक्षाका निम्ति केपीबाट पनि आफ्नो तयारी शुरु भइसकेको बुझिन्छ । पार्टीलाई विभाजन हुनबाट जोगाउन सक्ने नेताहरू माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ समेत एउटा कित्तामा उभिए भने नेकपालाई विभाजन हुनबाट जोगाउन साक्षात् लेनिन नै प्रकट भए पनि असम्भव हुने देखिएको छ ।