सात दशक लामो परम्परालाई निरन्तरता दिँदै भारतीय सेनापति नरवाणे नेपाल भ्रमणमा

सात दशक लामो परम्परालाई निरन्तरता दिँदै भारतीय सेनापति नरवाणे नेपाल भ्रमणमा


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूतले नेपाल भ्रमण गरी फर्किएको दुई साता नबित्दै अर्का विशिष्ट उच्चाधिकारीको नेपाल आगमनले दुई मुलुकबीचको सम्बन्धमा केही समययता देखापरेको चिसोपन अन्त्य हुने विश्वास गरिएको छ । भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवाणे आज (कात्तिक १९) नेपाल आउनुहुने कार्यक्रम केही दिनअघि मात्र निश्चित भएको थियो ।

नेपाल र भारतका सेनापतिहरूलाई एकअर्को मुलुकको ‘मानार्थ महारथी’ पदद्वारा विभूषित गरिने परम्परा विगत सत्तरी वर्षदेखि निरन्तर चल्दै आएको छ । पहिलोपटक सन् १९५० मा भारतका तत्कालिक प्रधानसेनापति जनरल कोडन्डेरा मडप्पा करिअप्पा मानार्थ महारथीका रूपमा नेपालबाट विभुषित हुनुभएको थियो । झण्डै पौने एक शताब्दी लामो परम्परालाई निरन्तरता दिँदै नेपालले यसपटक प्रधानसेनापति मनोज मुकुन्द नरवाणेलाई मानार्थ महारथीका रूपमा विभूषित गर्ने कार्यक्रम तय गरेको हो ।

यसअघि २०७५ को माघमा नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा भारतीय सेनाको मानार्थ महारथीको रूपमा सम्मानित हुनुभएको थियो । भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरवाणे कत्तिक १९ देखि २१ गतेसम्म सपत्नि काठमाडौंमा रहनुहुँदा उहाँको सम्मानमा यहाँ विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । राष्ट्रपतिको निवास्थान शितल निवासमा आयोजित एक भब्य समारोहमा नरवाणे मानार्थ महारथी पदबाट विभुषित हुनुहुने भएको छ ।

प्रधानसेनापति नरवाणेले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता गर्नुहुने र त्यस अवसरमा दुईपक्षीय हितका विभिन्न विषयमा कुराकानी हुने बुझिएको छ । नेपाल र भारतबीच अभेद्य बहुआयामिक सम्बन्ध कायम रहँदै आएको छ । उच्चस्तरीय भेटवार्ताका क्रममा द्विपक्षीय हितका बहुआयामिक विषयमा चर्चा हुने र सीमासम्बन्धी मुद्दामा सौहार्द्धपूर्ण कुराकानी हुने बताइएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि भारतीय सेनाप्रमुख नरवाणेको विशेष भेटवार्ताको कार्यक्रम छ । त्यस अवसरमा दुई देशका सेनाको आधुनिकीकरण, क्षमता अभिवृद्धि, परम्परा सहयोग आदानप्रदान र संस्थागत समन्वयात्मक सहयोगका बारेमा सम्वाद हुने बुझिएको छ ।

नेपालमा कतिपय व्यक्तिले नेपाल र भारतको सेनाबीच कायम परम्पराको अन्त्य हुनुपर्ने आवाज पनि उठाएका थिए । खासगरी नेपाल-भारत सम्बन्ध असामान्य हुनुलाई आफ्नो सफलता ठान्नेहरू यसप्रकारको परम्परा अन्त्यको पक्षमा देखापरेका थिए । तर, नेपाल सरकार तथा नेपाली सेनामा त्यसको असर परेन । नरवाणेको यो भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई मित्रवत एवम् सौहार्द्धपूर्ण बनाउने विश्वास गरिएको छ ।