मुगुमा बर्थिङ सेण्टर लागि बेलायतमा च्यारिटी

मुगुमा बर्थिङ सेण्टर लागि बेलायतमा च्यारिटी


Muguलण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिङ एशोसियसन यूकेले गत शनिबार एक च्यारिटी कार्यक्रमको आयोजना ग-यो ।
नेपालको दुर्गम जिल्ला मुगुमा बर्थिङ सेण्टर स्थापना गर्ने पवित्र उद्देश्य लिएर आयोजना गरिएको च्यारिटी कार्यक्रममा एशोसियसनका अध्यक्ष बासु लामिछानेले परोपकारी काममा सहयोग पु-याउनेप्रति आभार प्रकट गरे । सबैको साथ र समर्थन भए अन्य दुर्गम जिल्लाहरुमा पनि बर्थिङ सेण्टर स्थापना गर्न सकिने लामिछानेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि रोयल कलेज अफ नर्सिङका लण्डन क्षेत्रीय डाइरेक्टर ब्रुनेल बुसीले नेप्लिज नर्सिङ एशोसियसनको कार्यक्रममा सहभागि हुन पाउँदा खुशी लागेको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कंडेलले परोपकारी काममा नेप्लिजज नर्सिङ एशोसियसनको भूमिका महत्वपूर्ण रहेको बताए । त्यस्तै रोयल कलेज अफ नर्सिङका आई एन नोरिसले कार्यक्रम सफलताको कामना गरेका थिए ।
कार्यक्रमको औपचारिक सत्र महासचिव प्रशुना कंडेलले सञ्चालन गरेकी थिइन । त्यस्तै च्यारिटी साँझमा सम्पन्न सांस्कृतिक कार्यक्रममा गायीका शर्मिला बर्देवा, नव गायक सुजन पराजुली, दिपक थापा, लगायतले गीत गायका थिए । त्यस्तै प्रतिष्ठा त्रिपाठी, आरती गुरुङ, सुनिता गौतम, प्रियना आचार्य रश्मी दर्लामी लगायतले नृत्य प्रस्तुत गरेका थिए । पारीका आले र यमुना पुनले सास्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । दुर्गम जिल्लामा रहेका नेपाली महिलाहरुले बच्चा जन्माउँदा भोग्नुपरेको समस्या स्टेज शोमार्फत देखाइएको थियो । जिल्लामा बर्थिङ सेण्टर नहुँदा आमाले भोग्नुपरेको पीडा तथा त्यसले परिवारमा पारेको असर कलाकारहरुले स्टेज शोमा प्रदर्शन गरेका थिए ।
च्यारिटी नाइट सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई टोकन अफ लभ सहित सम्मान गरिएको थियो ।