यस वर्ष मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले एक विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गर्नुभएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन् । मङ्सिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उहाँले जानकारी दिनुभयो ।
यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मङ्सिर १ गते परेको हो । भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एकापसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसैअनुरुप मनाउन पनि समितिले आह्वान गरेको छ ।
प्रतिक्रिया